कर्मचारी समायोजनले स्वास्थ्य संस्था खाली, स्वास्थ्यकर्मी करारमा नियुक्ति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी समायोजनले स्वास्थ्य संस्था खाली, स्वास्थ्यकर्मी करारमा नियुक्ति


२६ माघ २०७६, आइतबार


ताप्लेजुङ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ ।

एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए ।

सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए । ‘लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौँ’, उनले भने ।

जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन् । पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन् ।

जागिर खोज्दै जुम्लादेखि ताप्लेजुङसम्म
शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए । झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म आइपुगे । उनीसहित ९४ जना परीक्षामा सामेल भएका थिए ।

‘जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ’, उनले भने । परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए ।

‘यति धेरै सङ्ख्यामा आवेदन पर्ला भन्ने हामीले सोचेका पनि थिएनौँ, जुम्लादेखिका परीक्षार्थीले समेत आवेदन दिइ परीक्षामा सहभागी भए’, गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने । उनका अनुसार एक मेडिकल अधिकृत पद आह्वान गरिएकोमा आवेदन परेन ।

Tags :
प्रतिक्रिया दिनुहोस