कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


कार्यालय सञ्चालन

रामपुर । पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ । गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौँ तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनीयर एक, सवइञ्जिनीयर पाँचौँ चार, सहायक सवइञ्जिनीयर चौथो छ गरी ११ को दरबन्दी खाली छ ।

गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ । यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ । प्रशासनमा रहेका एक खरिदार संघमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर एक जना पनि कर्मचारी नहुँदा कारोवार बन्दजस्तै बनेको छ । गत पुस महिनादेखि आर्थिक कारोवारसमेत ठप्प भएको छ । शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन् । सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ ।

कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताउछन् । ‘गाउँपालिकामा कार्यरत कर्मचारी समायोजन भएर अन्यत्र जाने र धेरैजसो शाखा खाली रहँदा समस्या परिरहेको छ, यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराइएको छ’, अध्यक्ष मगरले भने।

सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष मगरको भनाइ छ । कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन् । योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए ।

‘कार्यालयमा कर्मचारी अभावले नागरिकलाई सहज सेवा दिन पाइएको छैन, प्रदेश र संघमा कर्मचारी माग गरिए पनि पदपूर्ति नहुँदा काममा समस्या परेको छ, सेवाग्राहीले पनि सहज सेवा नपाएको गुनासो गरिरहनुभएको छ’, उनले भने । गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय तहमा कर्मचारी समस्याले कामकाजमा समस्या परिरहेको छ । स्थानीय तहमा कार्यरत कर्मचारी संघ र प्रदेशमा समायोजन भएर जान थालेपछि स्थानीय तहका विभिन्न शाखा कार्यालय खाली बनेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस