बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागलुङमा कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


गलकोट । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी संघ बागलुङले जनाएको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको संघका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । ‘कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ’, उनले भने, ‘कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।’ अहिलेसम्म ४०० नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।

कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी/बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी संघले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस