काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीविरुद्ध दायर भएको अवहेलना मुद्दा खारेज हुने फैसला सुनाएको छ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि गरेको टिप्पणीका आधारमा दायर भएको अदालतको अवहेलना मुद्दामा बिहीबार फैसला सुनाउँदै सर्वोच्चले केसीलाई सफाई दिएको हो।
१० महिनाअघि सुनुवाइ भएको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितका सात न्यायाधीशले २०७६ मंसिरमा सुनुवाइ सकेर फैसला हुने मिति तोकेका थिए।
सर्वोच्च अदालतले माफियाहरूको पक्षमा आदेश सुनाउने गरेको डा. केसीको टिप्पणीपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीकै निर्देशनमा उनीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।
२०७५ पुस २५ गते डा. केसीविरुद्ध सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलको टिप्पणीका आधारमा केसीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो।
डा.केसीसँगै कान्तिपुर दैनिकविरुद्ध पनि अवहेलना मुद्दा दायर भएको थियो। तत्कालीन प्रधानन्यायाधीश पराजुलीले मेडिकल कलेजका सञ्चालकसँग पैसा लिएर आदेश र फैसला गर्ने गरेको आरोप लगाएपछि केसीविरुद्ध उनले अवहेलना मुद्दा दायर गर्न निर्देशन दिएका थिए।
डा केसीले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएका थिए।
शैक्षिक योग्यताकै विवादमा राजीनामा दिएर सर्वोच्चबाट अलग भएका पराजुलीले उक्त मुद्दा आफ्नै इजलासमा राखेरसमेत सुनुवाइ गरेका थिए। उक्त मुद्दामा २०७५ फागुन २७ गतेपछि बिहीबार सुनुवाइको पालो आएको छ। तत्कालीन समयमा प्रधानन्यायाधीश पराजुलीले आफूसहित सात न्यायाधीशको इजलाशमा पेशी तोकेर सुनुवाइ गरेका थिए। त्यसअघि नै पुस २६ गते दुई न्यायाधीशको इजलाशले केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।







