विद्युत् मिटर शिल तोड्ने ८५ कारवाहीमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विद्युत् मिटर शिल तोड्ने ८५ कारवाहीमा


२० माघ २०७६, सोमबार


हेटौँडा । विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको विद्युत् वितरण केन्द्र टाँडीले जनाएको छ । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।

विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । ६० हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत रु सात करोड उठाउने गरेको छ ।

कार्यालयले सामाजिक काम शुरु गरेको छ । कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर प्रदान गरेको छ । गत आर्र्थिक वर्षमा सो कार्यालयले ३०० विद्युत् मिटर निःशुल्क वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि निःशुल्क विद्युत् मिटर वितरण प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै कार्यालयले त्यहाँ आउने सेवाग्राहीलाई अप्ठ्यारो पर्न नदिन एकद्वार प्रणलीबाट सबै काम सम्पन्न गराउने तयारी भइरहेको प्रमुख श्रीवास्तवले बताए । कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफरमर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ । टाँडीका स्थानीयवासी रामप्रसाद आचार्यका अनुसार कार्यालयको काम विगतको तुलनामा अत्यन्त सरल र सहजका साथै चुस्तदुरुस्त भएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस