नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेविसंघको तदर्थ समितिमा थप ७ पदाधिकारी मनोनित


१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरी विस्तार गरिएको छ । कांग्रेसको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाद्वारा गठित संघको केन्द्रीय समितिमा आज दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

संघको केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही) तथा महामन्त्रीहरुमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा)लाई मनोनयन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले यसअघि यही माघ १६ गते राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए । नेविसंघको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस