गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासकविरूद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासकविरूद्ध भ्रष्टाचार मुद्दा


१४ माघ २०७६, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक र उप–प्रशासकविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीले आठ लाख घुस लिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले काठमाडौं महानगरपालिका–१ मा रहेको गुठीको जग्गा उसकै नाममा गरिदिने भन्दै घुस लिएको र पछि फिर्ता गरेको सूचनाका आधारमा अनुसन्धान गरेको अख्तियारले जनाएको छ।

सोही सूचनाका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले केही समयअघि चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूले घुस लिएको ९ प्रमाण पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। साथै, आठ लाख बिगो रकम कायम गरी थप सजाय समेत हुन मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस