पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन


६ माघ २०७६, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु रु २५ हजारसहित पुरस्कृत भए । राजेशले ६५ किलो तथा रिताले ५५ किलो तौल समूहमा स्वर्ण जितेका थिए । प्रतियोगितामा भाटभटेनीले अनुशासित टोलीको उपाधि प्राप्त गर्‍यो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सम्पन्न प्रतियोगिताको पुरुष ५० किलोमा मेन डोजोका मनोज रानामगर पहिलो, एपीएफका सञ्जय राई दोस्रो तथा आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए ।

यस्तै पुरुष ५५ किलोमा एपीएफका रोहित चुनारो पहिलो, नोपली सेनाका तारा तामाङ दोस्रो तथा मुवाँथाईका दावा फुन्जो शेर्पा र पुलिस क्लबका राजेन्द्र सिन्जाली मगर तेस्रो भए । पुरुष ६० किलोमा एपीएफका वीरेन्द्रसिंह कोठारी पहिलो, पुलिस क्लबका मुकेश पण्डित दोस्रो तथा मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तृतीय भए । पुरुष ६५ किलोतर्फ आर्मीका राजेश चौधरी पहिलो, मुवाँथाईका फुर्देनी शेर्पा दोस्रो तथा बक्समान्डुका मनीषकुमार भुजेल र पुलिसका समन धुस्री तृतीय भए । पुरुष खुला तौल समूहमा रेजका कोशिष श्रेष्ठ पहिलो, एपीएफका भुपेन्द्र शाह दोस्रो तथा सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए ।

यसैगरी महिला ६५ किलोतर्फ एपीएफकी विनिता थापा मगर पहिलो, नेपाली सेनाकी मन्जु विक दोस्रो तथा एपीएफकी मनिषा राउत र मेन डोजोकी रविना तामाङ तृतीय भए । महिला खुला तौल समूहमा आर्मीकी विन्दु पुन पहिलो, एपीएफकी जयन्ती श्रेष्ठ दोस्रो तथा मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तृतीय भए । महिला ६० किलोतर्फ एपीएफकी निशा विक पहिलो, मेन डोजोकी सुस्मिता शाही दोस्रो तथा मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए । महिला ५० किलोमा एपीएफकी सन्जुमाया थिङले स्वर्ण, आइकेकेएफकी करिश्मा कार्कीले रजत तथा सेनाकी रुविका खड्का र शान्ति थापा मगरले कास्य पदक प्राप्त गरे । महिला ५५ किलोतर्फ नेपाल पुलिसकी रीता ठकुल्लाले स्वर्ण, एपीएफकी विद्या गुरुङले रजत तथा आर्मीकी अनुपमा नेपाली र रिना धमालले कास्य पदक प्राप्त गरे । तीनदिनसम्म चलेको सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश गरिएका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ पुरस्कार प्राप्त गरेका थिए ।

ब्याडमिन्टन टोलीलाई खेल पोशाक
नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले आइतबार खेल पोशाक प्रदान गरेको छ । सागमा सहभागी पुरुष र महिला गरी २० खेलाडी, छ प्रशिक्षक तथा दुई व्यवस्थापकलाई उक्त पोशाक प्रदान गरिएको हो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राखेप कभर्ड हलमा आइतबार सो पोशाक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस