यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ : रमेशजंग रायमाझी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यतीले भन्दा ५० करोड बढी दिन्छु, गोकर्ण मलाई देऊ : रमेशजंग रायमाझी


५ माघ २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिए वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभामा आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई नै भाडामा दिन सरकारलाई चुनौति दिएका हुन् ।

उनले भने ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन, किन दिँदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ ।’

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी गरे । प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोर्टिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।

सांसद रायमाझीले प्रधानमन्त्री ओलीलाई यती समूहको ‘डाइरेक्टर’ को पनि संज्ञा दिए । ‘प्रधानमन्त्री बालुटठारबाट सिंहदरबार आउनै छाडेका छन् । राति सुत्न प्रयोग गरिने बालुवाटारबाटै शासन चलाइरहेका छन्’, उनले भने, ‘देशको प्रशासनिक केन्द्र सिंहदरबार अहिले खाली छ । प्रधानमन्त्री नगएपछि काम नलाग्ने भएको सिंहदरबारमा ताला लगाउने हो कि ?’

सांसद रायमाझीले देशको कार्यकारी प्रमुखलाई भेट्न हरेकले उनी सुत्ने ठाउँमा पुग्नु परिरहेको गुनासो गरे । ‘हरेक मान्छेले भेट्नुपर्दा प्रधानमन्त्री सुत्ने ठाउँमा जानुपर्छ । अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो? प्रधानमन्त्री सिंहदरबार आउनुप‍र्यो’ उनले अगाडि भने, ‘बालुवाटारमा बसेर पञ्चायत व्यवस्थामा जस्तै सल्लाहकारहरुले बाहिर सारा ठीक छ प्रधानमन्त्रीज्यू भनेपछि सबै कुरा मिल्ने हो ?’

Tags :
प्रतिक्रिया दिनुहोस