विप्लव’ नेतृत्वको केन्द्रीय नेतासहित १६ जना कारागार चलान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव’ नेतृत्वको केन्द्रीय नेतासहित १६ जना कारागार चलान


२९ पुस २०७६, मंगलबार


बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको थियो ।

ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए । रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् ।

यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुयाएर ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस