सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि चार जनाको उम्मेदवारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि चार जनाको उम्मेदवारी


२० पुस २०७६, आइतबार


डोटी । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फ बाट दुई र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको तर्फबाट दुई जनाको मात्र उम्मेदवारी परेको हो ।

निर्वाचन अधिकृत विदुर काफ्लेले दिएको जानकारी अनुसार महिला कोटामा नेकपाको तर्फबाट शारदा भट्टको उम्मेदवारी परेको छ । भट्टले सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीको प्रस्ताव र डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु सलामीको समर्थन सहित उम्मेदवारी दर्ता गरेकी हुन् । कैलाली निवासी भट्ट नेकपा केन्द्रीय सल्लाहकार समिति प्रस्तावित सदस्य हुन् ।

उम्मेदवार नेतृ भट्ट साबिकको एमालेकी नेतृ हुन् । सो पदका लागि नेपाली काँग्रेसको तर्फबाट कैलालीकी तुलक्षी देवकोटाले उम्मेदवारी दर्ता गराएकी छिन् । देवकोटाले डोटी शिखर नगरपालिका प्रमुख सिताराम जोशीको प्रस्ताव र के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । देवकोटा नेपाली काँग्रेस कैलाली जिल्ला सल्लाहकार समिति सदस्य हुन् ।

यस्तै अन्य कोटाका लागि नेकपाको तर्फबाट तारामान स्वाँर (टिएम) ले उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रदेश सभा सदस्य नन्दवहादुर साउँदको प्रस्ताव र डोटी बोगटान फ्ड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । स्वाँर साविकको माओवादीका नेता हुन । अछाम जिल्ला निवासी उनी हाल नेकपाका केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज हुन् ।

सो पदमा नेपाली काँग्रेसको तर्फबाट दार्चुलाका प्रतापसिं ठगुल्लाले उम्मेदवारी दर्ता गराएका छन् । उनले के आई सिंह गाउँपालिका उपाध्यक्ष मीनादेवी बिष्टको प्रस्ताव र शिखर नगरपालिकाका उपप्रमुख धौलीदेवी रावलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । ठगुन्ना नेपाली काँग्रेस महासमितिका पूर्व सदस्य हुन् ।

उम्मेदवारी दर्ता गराउन नेकपा पार्टी कार्यालयबाट बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । नेपाली काँग्रेसका उम्मेदवारहरु जिल्लाको नेता कार्यकर्ताहरुका साथमा उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका लागि महिला एक र अन्य एक गरी दुई जनाका लागि निर्वाचन हुँदैछ । गोला तान्दा महिला कोटाकी कमला कुमारी ओली र अन्य कोटाका बद्रीप्रसाद पाण्डेको कार्यकाल दुई वर्षको भएपछि दुवै पदमा निर्वाचन हुन लागेको हो । ओली नेकपा र पाण्डे कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दैछन् । उनीहरूको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस