कृषि विकास बैंक ह्याकिङ्ग प्रकरण : एक करोड लिएर भागेका दीपक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरण : एक करोड लिएर भागेका दीपक पक्राउ


२० पुस २०७६, आइतबार


काठमाडौं । विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् ।

बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर हुन् । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उक्त घटनामा संलग्न मध्ये अहिलेसम्म १९ जना पक्राउ परे पनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताए ।

पक्राउ परेका बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।’बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई पक्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ’, थापाले भने । उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरे पनि पक्राउ पर्न सकेका थिएनन् ।

उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु ४ करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु १० लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखाता मै पैसा पुगेको थियो ।

गत असोज ५ गते पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरुले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनीहरुबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।

प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु ५ अर्ब रकम निकाल्ने योजना उनीहरुको थियो ।

समयमै सूचना प्राप्त हुँदा उनीहरुको योजना विफल भयो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए । शुक्रबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस