काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता आज हुने भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभाका १९ सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । राष्ट्रिय सभामा जम्मा उनान्साठी सदस्य रहने संवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।
मनोनयन दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।
महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।
निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।







