लिखित प्रस्ताव पठाउनुहोस् : मन्त्री पटेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लिखित प्रस्ताव पठाउनुहोस् : मन्त्री पटेल


१७ पुस २०७६, बिहिबार


धनुषा । छिमेकी राष्ट्र भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हलादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाहपञ्चमी महोत्सवको बेला जनकपुरधाम आउँदा घोषणा गरेको रु १ अर्ब सहयोगका लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउनुपर्ने बताएका छन् ।

भ्रमण वर्ष २०२० को आज दोस्रो दिन जनकपुर आएका मन्त्री पटेलले जानकी मन्दिर दर्शनपश्चात् नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकिर गरे । राज्यमन्त्री पटेलले काठमाडौँमा रु १ अर्ब सहयोग रकमबारे आफूले पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रस्ताव पठाउन सक्छ, त्यति नै छिटो काम अघि बढ्ने आश्वाशन दिए ।

जानकी मन्दिर दर्शनपछि जनकपुरका सञ्चारर्कीसँग संक्षिप्त कुराकानी गर्दै पटेलले भने, ‘म मेरो परिवारका साथ जनकपुरको पावनभूमिमा आएर माता जानकीको दर्शन गरेँ, मलाई धेरै खुशी लागेको छ ।’ राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नेसमेत प्रतिबद्धता जनाए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेललाई स्वागत गरे । उनले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश नं २ को पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउर्दै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताए ।

जनकपुरको सीताशरण होटलमा भएको भेटवार्तामा क्रममा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरेका थिए । सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश नं २ का प्रमुखसचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेलको स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस