रुकुमपूर्वमा पुनः हिमपात, चिसोले जनजीवन प्रभावित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुकुमपूर्वमा पुनः हिमपात, चिसोले जनजीवन प्रभावित


१७ पुस २०७६, बिहिबार


रुकुमपूर्व । रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ ।

रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो । जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् ।

सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका–५ का वसन्त बस्नेतले बताए ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसोे निकै बढेको स्थानीयवासीले बताएका छन् ।

हिमपात हुँदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताए । हिमपात हुँदा मानिसलाई पनि बाहिर निस्कन, हिँडडुल तथा दैनिक कामकाज गर्न समस्या भएको उनले बताएका छन् । यतिबेला जिल्लावासी जङ्गलबाट ल्याएको दाउरा बालेर आगो ताप्दै बसिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस