चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार


प्रशासन संवाददाता

१७ पुस २०७६, बिहिबार


जाजरकोट । तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उनी दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन् । जाजरकोटको नलगाड नगरपालिकामा मुख्य बजारयात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलङ्गामा उनी बस्दै आएका छन् । गुरुङसँगै शे फोक्सुण्डो गाउँपालिकाका धेरै मानिस अहिले देशका विभिन्न ठाउँमा पुगेको छन् ।

गुुरुङ परिवार जाजरकोट सदरमुकाममा दैनिक बिहानैदेखि ३० केजीको जिम्बु बोकेर सदरमुकामवासीको घर, दैलोमा पुग्दै व्यापार गरिरहेका छन् । गएको १५ दिनमा रु १ लाखको जिम्बु बिक्री गरिसकेको बताउने गुरुङ भन्छन् ,’उपल्लो डोल्पा घरमा हिउँ परेको छ, वर्षायाममा जङ्गलमा पाइने जिम्बु जम्मा गरेर चिसो मौसममा हजुरहरुको घरदैलोमा आएर व्यापार गरिरहेका छौँ । ‘

खेतबारीमा खाद्यान्न उत्पादन नहुँने भएकाले जङ्गलमा उत्पादन हुँने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको गुरुङले बताए । गुरुङ जस्तै वडा नं– ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेकी छिन् । दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु वर्षेनी जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइखर्च जुटाउँदै आएको बताउछन् ।

अहिले जेठो ११ र कान्छो ९ कक्षामा काठमाडौँ पढ्दैछन् । ‘यार्सागुम्बा, जिम्बु बेचेर आएको पैसाले पढाइ तथा घरखर्च जुटाउँदै आएका छौँ’, उनले भने , ‘हाम्रो जमीनमा उत्पादन हुने उवा, तितेफापर, सिमीले हामीलाई ३ महिना खान पुग्दैन, सडक यातायात पुगेको छैन् ।’

उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका वस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ थियो । उपल्लो डोल्पाको हिमाली भागमा चौंरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा वास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ । उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो वास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ ।

यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् । भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शे फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ । यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् । जिम्बु प्रतिमाना रु ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ ।

बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा सङ्लग्न हुन्छन् । जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गदै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिक रुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ ।

प्रतिकेजी रु ५ सय देखि ७०० सम्म पर्ने यो भोटे जिरा अर्गानिक मानिन्छ । स्थानीयवासील भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् । ती जडीबुटीबाट यहाँका स्थानीयवासीले मनग्य आम्दानी गदै आएको र स्थानीय सरकारले कर नलिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस