उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ : मन्त्री भट्ट


१७ पुस २०७६, बिहिबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिई उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताए । ‘उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ’, मन्त्री भट्टले भने, ‘ चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।’

उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिए । उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पारे । उनले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिएका थिए ।

मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको जानकारी दिए। बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस