लघु उद्यम : प्रादेशिक समृद्धिको एक अस्त्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लघु उद्यम : प्रादेशिक समृद्धिको एक अस्त्र


१७ पुस २०७६, बिहिबार


कुनै व्यक्ति, फर्म वा कम्पनीले आयआर्जन गर्ने उद्देश्य लिई वस्तु उत्पादन वा सेवा प्रदान गर्ने आर्थिक क्रियाकलापलाई नेपालको औद्योगिक नीति, २०६७ ले औद्योगिक व्यवसाय हो भनी परिभाषित गरेको छ । विनियोजित पुँजी, रोजगार, उत्पादन र व्यवस्थापन, इन्पुट प्रवाह, उत्पादनमा यान्त्रिकीकरणको मात्रा, श्रम र पारिवारिक श्रमको अनुपात, बजारको भौगोलिक आकार आदि जस्ता औद्योगिक चरित्रका आधारमा नेपालमा औद्योगिक व्यवसायलाई विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ । नेपाल सरकार उद्योग मन्त्रालयले उद्योगको प्रकृतिको आधारमा यसलाई निम्न बमोजिम वर्गीकरण गरेको छः

(क) उत्पादन प्रकृति तथा सेवाको आधारमा वर्गीकरण
(१) उत्पादनमूलक उद्योग
कच्चा, अर्ध प्रशोधित, खेर गइरहेको मालसामान वा अन्य सामानको प्रयोग वा प्रशोधन गरेर नयाँ सामान उत्पादन गर्ने उद्योगलाई उत्पादनमूलक उद्योग भनिन्छ । जस्तैः जम्बो रोलबाट कटिङ, स्लिटिङ्ग, परफोरेटिङ्ग तथा क्यापिङ्ग गरेर फोटोग्राफर फिल्म रोल तयार र प्याक गर्ने व्यवसाय ।

(२) ऊर्जामूलक उद्योग
जलश्रोत, वायु, सौर्य शक्ति, कोइला, प्राकृतिक तेल, ग्याँस, बायो ग्याँस तथा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने वा त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन र उपकरण निर्माण गर्ने उद्योगलाई ऊर्जामूलक उद्योग भनिन्छ । जस्तैः विधुत प्रसारण लाइन, विधुत वितरण प्रणाली आदि ।

(३) कृषि तथा बनजन्य उद्योग
कृषि तथा वन वा वनबाट पैदा हुने सामाग्रीसँग सम्बन्धित उद्योगहरू कृषि तथा बनजन्य उद्योग भित्र पर्छन् । जस्तैः रेसम खेती तथा रेसम उत्पादन, फलफूल खेती तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरा पालन, मत्स्यपालन, चिया कफी खेती तथा प्रशोधन, जडीबुटी खेती तथा प्रशोधन, तरकारीका बीउवीजन उत्पादन, च्याउ, तरकारी खेती वा प्रशोधन, नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने उद्योग (टिस्यूकल्चर), ग्रिन हाउस, मौरी पालन, मह उत्पादन, रबर खेती, फुल खेती तथा उत्पादन, कबुलियती वन, एग्रोफरेष्ट्री जस्ता व्यवसायहरू यस उद्योग अन्तर्गत पर्छन् ।

(४) खनिज उद्योग
तामा, अभ्रख, कोइला, पेट्रोल, सुन, चुन ढुङ्गा, सिसा, निकेल, पन्ना आदि खनिजका केही उदाहरणहरू हुन्। यस्ता खनिजहरूको उत्खनन वा प्रशोधन गरेर कुनै धातु वा धातु बाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगलाई नै खनिज उद्योग भनिन्छ ।

(५) पर्यटन उद्योग
पर्यटकहरूको सेवा सुविधा तथा मनोरञ्जनलाई मुख्य उद्देश्य बनाएर खोलिएका उद्योगलाई पर्यटन उद्योग भनिन्छ। पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ, रिसोर्ट, ट्राभल एजेन्सी, स्कीइङ्ग, ग्लाइडिङ्ग, वाटर र्या्फ्टिङ, केबलकार कम्प्लेक्स, पोनी ट्रेकिङ, पदयात्रा (ट्रेकिङ), हट एयर व्यालुनिङ, प्यारा सेलिङ, गल्फ कोर्स, पोलो, हर्ष राइडिङ, मनोरञ्जन पार्क निर्माण तथा सञ्चालन आदि व्यवसायहरू यस उद्योग अन्तर्गत पर्छन् ।

(६) सेवा उद्योग
ढुवानी तथा हवाई सेवा, परामर्श सेवा,अस्पताल, टेलिफोन तथा टेलिभिजन प्रसारण सेवा, फोहोर सङ्कलन सेवा, पेसागत सेवा जस्तै प्लम्बिङ, वायरिङ, बुटिक आदि सबै सेवा उत्पादन तथा प्रदान गर्ने व्यवसायहरू सेवा उद्योग भित्र पर्छन्। यस उद्योगले अन्य उद्योगहरूको तुलनामा निकै ठुलो ठाउँ ओगटेको छ।

(७) सूचना तथा सञ्चार प्रविधि उद्योग
सूचना सङ्कलन, प्रशोधन र प्रसारणको लागि प्रविधि प्रयोग गरी सूचना, ज्ञान तथा सञ्चार सेवा पुर्‍याउने औद्योगिक व्यवसायहरू जस्तैः टेक्नोलोजी पार्क, आइ टि पार्क, वायोटेक पार्क, सफ्टवेयर विकास, कम्प्युटर तथा सम्बन्धित सेवाहरू, तथ्याङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्यापिङ्ग, भी—स्याट, इन्टरनेट सेवा, टेलिफोन तथा सेलुलर टेलिफोन सेवाहरू, मोबाइल टेलिफोन, पेजिङ्ग सेवा, टेलिभिजन प्रसारण (स्याटलाइट तथा केबल टेलिभिजन प्रसारण) सेवा, एफ.एम. रेडियो प्रसारण सेवा, इमेल, भ्वाइस मेल, फ्याक्स, अडियो—भिडियो, सी.डी. रोम रेकर्डिङ तथा उत्पादन, प्रिन्ट मिडिया उद्योग आदि पर्दछन् ।

(८) निर्माण उद्योग
भौतिक पूर्वाधारहरूको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्योगलाई नै निर्माण उद्योग भनिन्छ । जस्तैः सडक, पुल, रोपवे, रेल्वे, ट्रलीवश, टनेल, फ्लाइट ब्रिज तथा औद्योगिक, व्यापारिक वा आवास कम्प्लेक्स, सभा सम्मेलन केन्द्र, ढल तथा निकास, खाने पानी पाइप लाइन आपूर्ति, इन्धन तथा ग्याँस आपूर्तिको पाइप लाइन जडान, सिँचाइ, ऊर्जा घर तथा ऊर्जा प्रसारण लाइन, स्पोर्टस कम्प्लेक्स, स्विमिङ पुल, एयरपोर्ट, फिल्म स्टुडियो आदिका पूर्वाधार निर्माण गरेर सञ्चालन वा व्यवस्थापन गर्ने उद्योगहरू यस उद्योग अन्तर्गत पर्छन् ।

(ख) लगानी र प्रकृतिको आधारमा उद्योगको वर्गीकरण देहाय बमोजिम गरिएको छ :–
(१) लघु उद्यम (Micro Enterprises)_
लघु उद्यम भन्नाले देहायका सर्त पूरा गरेको व्यवसाय सम्झनु पर्छ :

  •  घर जग्गा बाहेक बढीमा पाँच लाख रूपैंयासम्म स्थीर पुँजी लगानी हुने,
  •  उद्यमी स्वयं व्यवस्थापनमा संलग्न रहेको,
  •  उद्यमी समेत ९ जनासम्म कामदार रहेको,
  •  वार्षिक आर्थिक कारोबार ५० लाख रुपैंया भन्दा कम रहेको, र
  •  इन्जिन उपकरण प्रयोग हुने भएमा त्यस्तो इन्जिन वा उपकरणको विद्युत् मोटर वा अन्य तेल इन्जीन शक्ति क्षमता २० किलोवाट वा सो भन्दा कम भएको ।

स्पष्टीकरण :
माथि उल्लेखित सर्तहरू पुरा गरेता पनि अनुमति लिनुपर्ने उद्योग व्यवसाय, मदिरा, बियर, चुरोट रिडी वा अन्य सूर्तीजन्य वस्तु उत्पादन वा प्रयोग हुने व्यवसायलाई लघु उद्यम मानिने छैन । त्यसै गरी एक पटक लघु उद्यम व्यवसायको रूपमा दर्ता भएका उद्यमले अन्य उद्योगका रूपमा स्तरोन्नति गरेमा सो उद्यम लघु उद्यमको वर्गमा रहने छैन ।

(२) परम्परागत तथा अन्य घरेलु उद्योग (Traditional And Other Cottage Industries)
परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवम् स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको कला र संस्कृतिसँग सम्बद्ध र १० किलोवाटसम्म विद्युत् शक्ति प्रयोग गर्ने औद्योगिक नीति, २०६७ को अनुसूची ६ मा उल्लेख गरिएका उद्योग व्यवसायहरू यस वर्ग भित्र पर्दछन् ।

(३) साना उद्योग (Small Scale Industries)
लघु उद्यम र परम्परागत तथा अन्य घरेलु उद्योग बाहेक पाँच करोड रुपैैंयासम्म स्थिर जेथा भएका औद्योगिक व्यवसायहरू ।

(४) मझौला उद्योग (Medium scale Industries)
पाँच करोड भन्दा बढी पन्ध्र करोड रुपैंयासम्म स्थिर जेथा भएका औद्योगिक व्यवसायहरू ।
(५) ठुला उद्योग (Large Scale Industries)
पन्ध्र करोड रुपैंया भन्दा बढी स्थिर जेथा भएका औद्योगिक व्यवसाय,

लघु उद्योगका चरित्रहरू (Charactristics Of Micro Enterprises)
(१) तल्लो राजस्व र नाफा (Lower Revenue and Profitable)
सामान्यतया लघु उद्योगबाट प्राप्त राजश्व ठुला कम्पनीहरूबाट प्राप्त राजश्व भन्दा कम हुन्छ । लघु उद्यम व्यवसाय प्रशासनले साना व्यवसायहरूलाई कम्पनीहरूको रूपमा वर्गीकृत गर्दछ जो व्यापारको खास प्रकारमा निर्भर गर्दछ, राजस्वको कम रकम ल्याउँदछ । कम राजस्वको मतलब कम मुनाफा भने होइन । स्थापित लघु व्यापारहरूको लागी आवश्यक उपकरणहरू सोझै बाहिरको स्वामित्वमा रहने भएकोले अधिक लिभरेज्ड व्यवसायहरू भन्दा लागत कम राख्न मद्दत गर्दछ ।

(२) सानो श्रमिकको टोली (Smaller Terms Of Emplyee)
लघु उद्यम व्यवसायीहरूले ठुलो पैमानामा सञ्चालन गर्ने कम्पनीहरूको भन्दा साना कर्मचारीहरूको समूह राख्छन् । साना व्यवसायहरू पूर्ण रूपमा एकल व्यक्ति वा साना टोलीहरूद्वारा सञ्चालित हुन्छन् । व्यवसायको प्रकार हेरी एक ठुलो आकारको लघु उद्यमले एक सय भन्दा कम कामदारलाई रोजगारी दिएको हुन्छ ।

(३) सानो बजार क्षेत्र (Small Market Area)
लघु उद्यम व्यवसायहरूले कर्पोरेसनहरू वा ठुला निजी व्यवसायहरू भन्दा धेरै सानो क्षेत्रमा सेवा गर्दछन् । सानो स्तरको व्यावसायिक परिभाषा भित्र पर्ने यी कम्पनीहरूलाई स्थानीय क्षेत्र भन्दा धेरै ठुला क्षेत्रहरू सेवा गर्न रोक्दछ, किनभने ठुलो बजार क्षेत्रको परिभाषाले लघु उद्यमलाई नयाँ वर्गीकरणमा धकेल्दछ ।

(४) एकल वा साझेदारी स्वामित्व र करहरू (Sole or  Partnership and Taxes)
व्यापारको कर्पोरेट अवस्था लघु उद्योगको अपरेशन्सको लागि उपयुक्त हुँदैन । यसको सट्टामा लघु व्यवसायीहरू एक्लो स्वामित्व, साझेदारी वा सीमित उत्तरदायी कम्पनीको रूपमा व्यवस्थित गर्न रुचाउँछन् । व्यापार दर्ताको समस्या र खर्चलाई न्यूनतम पार्दै लघु उद्यम व्यवसायले कम्पनी मालिकहरूको लागि व्यवस्थापकीय नियन्त्रणको वातावरण प्रदान गर्दछ, । यी व्यवसायहरूमा सामान्यतया करको हिसाब राखिँदैन, मात्र आम्दानी र खर्चको लेखा जोखा राखिन्छ ।

(५) थोरै स्थानहरूको सीमित क्षेत्र (Limited Area Of fewer Locations)

लघु उद्यम एक सानो लगानीको व्यापार भएकोले सीमित क्षेत्रमा मात्र फेला पार्न सकिन्छ । यी कम्पनीहरूको धेरै स्थानमा बिक्री आउटलेटहरू हुदैन्न् । एकल अफिस, खुद्रा स्टोर वा सेवा आउटलेटबाट साना व्यवसायहरू ठुलो सङ्ख्यामा सञ्चालन हुन्छन् । कुनै पनि कम्पनी सुविधाहरू बिना घरबाट सीधै व्यवसाय चलाउन सकिने सम्भावना हुन्छ ।

लघु उद्यम व्यवसायको उदेश्यहरुः
१. लघु उद्योगको मुख्य उद्देश्य भनेको बेरोजगारी र अर्ध–बेरोजगारीको समस्या समाधान गर्नु हो । लघु उद्यमहरूको माध्यममा पुँजीका इकाईहरू अपेक्षाकृत श्रममूलक हुने भएकोले यसले रोजगारीका अवसरहरूलाई बढाउने गर्दछ ।
२. दोस्रो मुख्य उद्देश्य आर्थिक शक्तिको समान वितरण गर्नु हो ।
३. साना उद्योगहरू मार्फत औद्योगिक विकेन्द्रीकरण सम्भव हुन्छ । यसले देशको आर्थिक विकासमा प्राविधिक सन्तुलन कायम गर्दछ । क्षेत्रीय प्राविधिक असमानता घटाउँदछ ।
४. लघु उद्यम श्रम प्रधान प्रविधिमा आधिारीत हुने भएकोले श्रमिकहरूको प्रशस्ततालाई सुनिश्चित गर्दै औद्योगिक शान्ति स्थापना गर्दछ ।
५. लघु उद्योगहरू को माध्यम बाट देशको सभ्यता र संस्कृति सुरक्षित राख्न सकिन्छ । कलात्मक एवं परम्परागत वस्तुहरू अधिकाँशतः श्रम प्रधान प्रविधिमा आधारित लघु उद्योगहरू द्वारा उत्पादित हुन्छन् जसले उद्योगहरूमा आपसी सद्भाव, समानता र मातृत्वको भावनालाई प्रबल गर्दछ ।
६. लघु उद्योगहरूले मुख्यतः प्राकृतिक स्रोतहरूको अधिकतम उपयोग गर्दछ ।
७. मानवीय मूल्यहरूको हिसाबले ’साधारण जीवन उच्च विचार’ को भावना बनाउँदछ ।
८. व्यापारको सन्तुलन र भुक्तानीको सन्तुलन अनुकूल बनाउन, उनीहरूले अधिक विदेशी मुद्रा आर्जन गरी व्यापारको सन्तुलन र भुक्तानीको सन्तुलनलाई अनुकूल बनाउँदछ ।
९. लघु उद्यमले सर्वसाधारणलाई उत्तम उपभोग्य वस्तुहरू प्रदान गर्दछ ।
१०. उनीहरूले सकेसम्म उत्तम उत्पादन गर्ने लक्ष्य राख्दै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दछन् ।

लघु उद्यम व्यवसाय प्रदेश नं. २ को आर्थिक विकासको दिगो र भरपर्दो आधार स्तम्भ हो
लघु उद्योगले घरघरमा सञ्चालन गर्न सकिने साना लगानीका उद्योगलाई बुझाउँछ । यसका साथै घर जग्गा बाहेक बढीमा दुई लाख रूपैंयासम्म स्थिर पुँजी लगानी हुने, उद्यमी स्वयं व्यवस्थापनमा संलग्न रहेको, उद्यमी समेत ९ जनासम्म कामदार रहेको, वार्षिक आर्थिक कारोबार २० लाख रुपैंया भन्दा कम रहेको, र इन्जिन उपकरण प्रयोग हुने भएमा त्यस्तो इन्जिन वा उपकरणको विद्युत् मोटर वा अन्य तेल इन्जिन शक्ति क्षमता १० किलोवाट भन्दा कम लगानी हुने उद्यमलाई लघु उद्यम भनिन्छ । प्रदेशको ग्रामीण क्षेत्रमा खेर गइरहेको स्थानीय कच्चा सामानहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा आफ्नो परिवारका सदस्यहरू तथा सीमित श्रमबाट पारिवारिक आवश्यक पूर्ति गर्नका लागी लघु उद्यम व्यवसाय अँगाल्न सकिन्छ ।

लघु उद्योग अन्तर्गत ऊनी तथा सुती कपडा उद्योग, घरेलु कागज उद्योग, घरेलु धातु उद्योग, काष्ठ उद्योग, बिँडी उद्योग माटो उद्योग, दुग्ध उद्योग, बाँस–वेतसम्बन्धी उद्योग, अगरबत्ती उद्योग, हस्तकला उद्योग, धान कुट्ने तेल र उखु पेल्ने उद्योग र घरेलु छाला उद्योग समेत आउने गर्छन् । ग्रामीण औद्योगिकीकरण हामीले कृषिमा आधारित विशेष उद्योग जस्तैः पशुपालन, कुखुरा पालन, मत्स्यपालन, मौरी पालन, रेसम खेती, दुग्ध शाला आदि उद्योगलाई सम्मिलित गर्न सकिन्छ । अक्सर गरेर कुटी र उद्योगहरू ग्रामीण क्षेत्रमा कृषिसँग सम्बन्ध भएका हुन्छन् । हाते तानमा कपडा बुन्नु, कार्पेट, गलैँचा, सुकुल, चटाई टोकरी बुन्नु, तोरी पेल्नु, काठमा बुट्टा कोर्नु, धातुका भाँडाकुँडा बनाउनु, माटाका भाँडाहरू बनाउनु, गहनाहरू बनाउनु, क्युरियोका सामान बनाउनु इत्यादि नेपालकै विभिन्न प्रकारका कुटी र घरेलु उद्योग हुन् । नेपालका औद्योगिक एकाइ मध्ये लगभग ९५ प्रतिशत घरेलु लघु उद्योग छन् र ९० प्रतिशत औद्योगिक रोजगार घरेलु उद्योगले प्रदान गरेको अनुमान गरिएको देखिन्छ । नेपालमा वार्षिक ३ लाखभन्दा बढी श्रम शक्ति श्रम बजारमा आउने गरेको छ । प्रादेशिक तथ्याङ्क विशेषण भई सकेको अवस्था छैन ।

प्रदेशमा लघु उद्यम व्यवसायको सम्भावना

  •  वैदेशिक श्रम शक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीय स्तरमै स–साना लघु व्यवसाय खोली रोजगारी प्रवर्द्धनको अवसर रहेको छ ।
  •  स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुने हुँदा बाह्य आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढी रहेको छ ।
  •  नेपाल सरकार एवं प्रदेश सरकारले प्रदेशमा दक्ष जनशक्तिको उत्पादनबाट स्थानीय स्तरमा आयमूलक रोजगारीका अवसरहरू सिर्जना गर्न विभिन्न किसिमका सीप तथा व्यवसायमूलक तालिमहरू सञ्चालन गर्दै आएका छन् । देश भरीमा घरेलु तथा साना उद्योग सम्बन्धी कार्यालयहरूबाट मात्र वार्षिक करिब २० हजारभन्दा बढीलाई ८० भन्दा बढी विषयमा सीपमूलक तालिम दिँदै आएको छ । यस्ता तालिम प्राप्त जनशक्तिहरूलाई प्रदेश समृद्धिको आर्थिक विकासमा प्रयोग गर्न सकिने अवसर रहेको छ ।
  •  सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका विकास प्रयासहरू एकीकृत र नतिजामुखी नहुँदा यस क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन । तालिम दिने निकायले तालिमको लक्ष्य तोक्ने र जनशक्ति उत्पादन गर्ने, ऋण दिनेले ऋण लगानी र असुलीको लक्ष्य तोकी सो अनुरूप ऋण लगानी गर्ने, तर त्यो तालिम र ऋणको उद्देश्य के हो, सोको उद्देश्यअनुरुप नतिजा प्राप्त भएको छ÷छैन हेर्ने पद्धति विकास गर्न सकिने पर्याप्त अवसरहरू पहिल्याउन सकिने अवस्था रहेको छ ।

प्रादेशिक लघु उद्यम तथ्याङ्क (श्रोतः मेडपा)
(क) प्रदेश नं. २ मा जिल्लागत उद्यमीहरुः

(ख) मेडेपद्वारा प्रदेश २ मा प्रवद्र्घन गरिएका उद्यमहरुः

(ग) प्रदेशका उद्यमहरूको आर्थिक कारोबारको अवस्था

  •  उत्पादन लागत कुल ७२ करोड २० लाख/प्रति उद्यम रु. ४५३८३।–
  •  विक्री १ अरब ६४ करोड/प्रति उद्यम रु. १ लाख ३ हजार
  •  नाफा ९२ करोड/प्रति उद्यम रु. ५८ हजार
  •  ऋण प्राप्त जम्मा रु. ४ करोड ९२ लाख
  •  स्व लगानी पुँजी जम्मा रु. ११ करोड ५८ लाख

(घ) प्रदेश २ का लाभान्वित उद्यमीहरूको जातिगत विवरण

  •  दलित ५९४४ (३७ प्रतिशत)
  •  जनजातीय २४०७ (१५ प्रतिशत)
  •  मधेशीः १४००६ (८८ प्रतिशत)
  •  अन्य ७५८८ (४८ प्रतिशत)

(ङ) लघु उद्यम देखी स्थानीय तहको नेतृत्वसम्म

  •  स्थानीय तहमा निर्वाचित मेडेप/मेडपावाट प्रवद्र्घन गरिएका उद्यमीहरुः ३५ जना
  •  महिला उद्यमी जनप्रतिनिधि २७ जना (७७ प्रतिशत)
  •  पुरुष उद्यमी जनप्रतिनिधि ८ जना (२३ प्रतिशत)
  •  उपमेयर/उपाध्यक्षः १ जना
  •  वडाध्यक्ष २ जना
  •  सदस्य (खुल्ला, महिला, दलित): ३२ जना
  •  दलितः २० जना
  •  जनजातीः १२ जना
  •  अन्यः ३ जना
  •  मधेशीः १०० प्रतिशत
  •  सप्तरीवाटः १ जना
  •  सिरहावाटः ६ जना
  •  धनुषावाटः १४ जना
  •  सर्लाहीवाटः ४ जना
  •  रौतहटवाटः ५ जना
  •  वारावाटः ५ जना

सम्भाव्य प्रादेशिक लघु उद्यमहरू
(१) कपडामा आधारित लघु उद्यम
ह्यान्ड लुम, पेडल लुम, सेमी–अटोमेटिक लुम, कपडा वार्पिङ, परम्परागत प्रविधिबाट गरिने रङ्गाइ, छपाइ, सिलाइ र बुनाइ । ऊन र रेशममा आधारित हाते बुनाइका राडी पाखी, गलैँचा, पस्मिना, पोसाक । पौभा, थाङ्का चित्र र अन्य परम्परागत चित्रकला ।

(२) धातु तथा पत्थरमा आधारित लघु उद्यमहरुः
परम्परागत कलामा आधारित वस्तु परम्परागत मूर्तिकला तामा, पित्तल, ढलौट, काँस र जर्मन सिल्भर जस्ता धातुबाट हस्तनिर्मित भाँडावर्तन तथा हस्तकलाका सामान । फलामबाट बनेका हस्त निर्मित भाँडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हँसिया, कुटो, कोदालोजस्ता परम्परागत औजारहरू । सुन, चाँदीबाट हस्त निर्मित गरगहना, वस्तु, भाँडा वर्तनहरू–बहुमूल्य, अर्ध बहुमूल्य तथा साधारण पत्थर जडान भएका समेत । स्वदेशमा उपलब्ध किमति, अर्धकिमति तथा साधारण पत्थर कटाई उद्योग । पत्थरकला (ढुङ्गा कुँदी बनाइएका सामानहरू) ।

(३) ग्रामीण ट्यानिङ/छालाबाट हस्त निर्मित वस्तुहरू ।

(४) जुट, सवाइ घाँस, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग ।

(५) संस्कृतिमा आधिारित लघु उद्यमहरुः
मुकुन्डो तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना । परम्परागत संस्कृति, बाजागाजा र कला दर्साउने विभिन्न प्रकारका हस्तकलाका वस्तु ।

(६) काठ तथा माटोमा आधारित लघु उद्यमहरुः
काठ, हाड, सिङ तथा माटो, चट्टान र खनिजका कलात्मक वस्तुहरू । सेरामिक्स तथा माटाका भाँडाकुँडा ।

(७) वन्यजन्य पदार्थमा आधारित लघु उद्यमहरुः
अगरबत्ती बनाउने कार्य, डोको, नाँगलो, मुढा, अगरबत्तीको सिन्का बनाउने उद्योग, सुपारीको पातको डाँठ वाट उत्पादन हुने भाडाकुडाहरु ।

(८) खाद्य सामग्री उत्पादन लघु उद्योगहरुः
ग्रामीण क्षेत्रमा बिस्कुट पाउरोटीहरू बनाउने, दालमोठ, साना तिना मिल सञ्चालन हुने, तेल पेल्ने, अमिलो पेलेर टिकाउ बनाउने, फलफूलको अचार बनाउने, छुर्पी, घिउ आदि बनाउने कार्य ।

प्रादेशिक लघु उद्यमको वर्तमान अवस्था
(१) प्रविधि तथा यान्त्रिकीकरण
प्रादेशिक स्तरमा लघु उद्योगहरूले भोग्नुपर्ने मुख्य कठिनाइहरू मध्ये विदेशमा आधुनिक यन्त्र उपकरणद्वारा ठुलो आकारमा उत्पादित सस्तो र राम्रो औद्योगिक वस्तुहरूसँग सामना गर्नुपरेको मुख्य तीव्र प्रतिद्वन्द्वीताक हो । ठुलो–ठुलो उद्योगहरूबाट विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक ढङ्गले थरी थरीका डिजाइन भएको वस्तुहरू उत्पादन हुन्छ । तर, लघु उद्योगमा मानिसहरूबाट पुरानो डिजाइनको वस्तु उत्पादन हुन्छ र रङ्गीबिरङ्गी हुँदैन साथै घरेलुका उत्पादित वस्तु महँगो पनि हुन्छ । यसैले गर्दा लघु उद्योगले विकास गर्न सकेको छैन । लघु उद्योगको विकासमा एउटा महत्त्वपूर्ण बाधा प्रतिस्पर्धा हो । हातले बनेका सामानहरूले मेसिनबाट बनेका सामानहरूसँग कुनै हालतमा प्रतिस्पर्धा गर्न सक्दैन । हातले बनेका सामानहरू महँगो मात्र होइन कि रूप र आकारमा पनि राम्रो हुँदैन । मेसिनसँग लघु उद्योगले प्रतिस्पर्धा गर्न कठिन हुने कुरा स्वाभाविक नै हो । नेपालमा लघु उद्योगलाई विदेशी वस्तुबाट प्रतियोगिता गर्नुपर्छ । विदेशी वस्तु सस्तो तथा सुन्दर हुन्छ र यसको माग पनि बढी हुन्छ । तर लघु उद्योगका वस्तु टिकाउ भए तापनि सुन्दर हुँदैन जसले गर्दा यसको माग बढी हुँदैन । भएका उत्पादनहरूको व्राण्डिँग र ¥यापिँगको अभावमा लघु उत्पादनहरूले बजारमा पहिचान पाउन सकेका छैन । धनुषा, बारा, सिराहा जिल्लामा लघु उद्योगबाट उत्पादित अगरबत्तीले आफ्नो पहिचान पाउन सकेको छैन ।

(२) पुँजीको अभाव
पुँजीको अभावमा कुनै पनि उद्योगहरू फस्टाउन पाउँदैन । लघु उद्योगमा लागो व्यक्तिहरूसँग आफ्नो व्यवसाय बढाउन आवश्यक पुँजी छैन । यसले गर्दा पनि लघु उद्योगको विकासमा बाधा पुर्‍याएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले लघु उद्यमीहरूलाई सहज रूपमा ऋण प्रवाह गरेको अवस्था छैन ।

(३) कच्चा पदार्थको उपलब्धताः
लघु उद्योगको लागि चाहिने कच्चा वस्तुहरूको पनि ठुलो अभाव छ । एक ठाउँमा भएको कच्चा वस्तुलाई अर्को ठाउँमा लैजान कठिनाइ भएको छ । चाहिएको गुणस्तरको कच्चा पदार्थको उपलब्धतामा कठिनाइ व्यहोर्नु परेको छ । यस प्रदेशमा अगरबत्ती उत्पादनको लागी चाहिने गोलो सिन्का र मसलाको अभाव, नाँगलो डोको बुन्ने कार्यको लागी बाँस, बेतको अभाव यसको ज्वलन्त उदाहरण हो ।

(४) कामदारको दक्षताः
लघु तथा साना उद्योगमा लागेका अधिकांश कामदार अप्रशिक्षित तथा अदक्ष छन् । परम्परागत शैलीमा उत्पादन गरेका छन् ।

(५) उद्यम वातावरणः
नेपालमा लघु उद्योगहरू स्वस्थ वातावरणमा विकसित भएका छैनन् । कुनै कुनै लघु उद्योगहरू बिलाएर गइसक्यो र कुनै–कुनै त्यसै नराम्रो स्थितिमा परिरहेका छन् । सम्भावित उद्योगहरू पनि राम्ररी विकसित हुन सकेका छैनन् । यी उद्योगहरूको पुनरुत्थान तथा विकासका लागि आजसम्म भएका प्रयासले सन्तोषजनक उपलब्धि हासिल गर्न सकेको छैन । नेपाल जस्तो विकासशील देशले लघु उद्योगको क्षेत्रमा बढी मात्रामा विकास गर्नु अति नै आवश्यक देखिएको छ । तर, यसमा धेरै समस्या तथा बाधाहरू छन् जसले गर्दा लघु तथा साना उद्योग फस्टाउने मौका पाएको छैनन् । साथसाथै लघु तथा साना उद्योगहरूले उचित मात्रामा संरक्षणको अभाव छन् । लघु उद्योगको लागि महत्त्व दिने किसिमको वातावरण तयार गर्न सकिएको छैन ।

निष्कर्ष
प्रादेशिक अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानमा वृद्धि गरी आर्थिक रूपान्तरण र सुदृढ अर्थतन्त्रको निर्माण सोच औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा रोजगारीमा वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गरी प्रादेशिक अर्थतन्त्रको अभिवृद्धि गर्ने लक्ष्य तथा लघु उद्योग क्षेत्रको उत्पादन वृद्धि गरी कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाउनु, औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी वृद्धि गरी रोजगारीको अवसर सृजना गर्नु, औद्योगिक वस्तुहरूको निर्यात वृद्धि गरी व्यापार घाटामा कमी ल्याउने उद्देश्य राखिएको छ । कृषि क्षेत्रमा रहेको निर्भरतालाई कम गर्दै विद्यमान बेरोजगारी, अर्ध–बेरोजगारी तथा गरिबी कम गर्न औद्योगिकीकरणको भूमिका महत्त्वपूर्ण छ । औद्योगिक लगानीले औद्योगिक उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, स्थानीय सीपको प्रयोग, स्रोत साधनको उपयोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा योगदान गर्छ । औद्योगिक क्षेत्रमा निजी स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न औद्योगिक पूर्वाधार निर्माण गर्दै लैजाने, मौजुदा औद्योगिक पूर्वाधारहरूको प्रभावकारी उपयोग गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिन विशेष आर्थिक क्षेत्रको निर्माण तथा सञ्चालन गर्ने र लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनको माध्यमबाट गरिबी न्यूनीकरण गरी प्रादेशिक समृद्धिको लागी एक अस्त्र रूपी योजना तयार गरी लागु गर्न ढिलाइ गर्नु हुँदैन ।

महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. २ का शाखा प्राविधिक अधिकृत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस