नेपाल भ्रमण वर्ष : बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल भ्रमण वर्ष : बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापन


१६ पुस २०७६, बुधबार


काठमाडौं । उपत्यकाको पर्यटकीयस्थलका रुपमा रहेको बौद्धमा ‘पर्यटक प्रहरी सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष शुरु भएसँगै बौद्ध क्षेत्र विकास समितिको सहयोगमा बौद्ध स्तुपाभित्र स्थापना भएको ‘पर्यटक प्रहरी सूचना केन्द्र’को आज काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णबहादुर राईले शुभारम्भ गरे ।

कार्यक्रममा सांसद राईले नेपाल भ्रमण वर्षमा नेपाल आउने विदेशी पर्यटकलाई पर्यटकीय सूचना चाहिएमा केन्द्रले सहयोग गर्ने हुँदा भ्रमण वर्ष सफल बनाउन उक्त केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । ‘पर्यटकलाई चाहिने सूचना दिन केन्द्र कोसेढुङ्गा साबित हुनेछ,’ उनले भने।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल भ्रमणका क्रममा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणसम्बन्धी विभिन्न सूचना आदान–प्रदान गर्न र विदेशी पर्यटकको उजुरी तथा गुनासो प्राप्त गर्न समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए । उक्त सूचना केन्द्रमा पर्यटक प्रहरी र बौद्ध क्षेत्र विकास समितिका कर्मचारी बस्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस