आम नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार हो : अध्यक्ष शाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आम नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार हो : अध्यक्ष शाही


११ पुस २०७६, शुक्रबार


डोटी । केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले आम नागरिकले निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताएका छन् ।

शुक्रवार केआईसिंह गाउँपालिका वडा नं. २ दाडीमाटी स्थित सामुदायिक स्वास्थ्य केन्द्रको सेवा सुचारु उद्घाटन र तिखातर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै अध्यक्ष शाहीले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले अहिलेको २१ शताब्दीमा संविधानको धारा ३५ मा उल्लेख भए बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार छ त्यसैले सबैलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन भवन निमार्ण गरिएको बताए ।

उनले भने, ‘विभिन्न खाले स्वास्थ्य समस्या भएका, बाहिर टाढा जान नसक्ने स्थानीयको स्वास्थ्य उपचारमा सहजता आउने कुरामा म विश्वस्त छु’ केही त्यस्तो स्वास्थ्यकर, औषधीको समस्या भएमा समयमै जानकारी गराउनु होला’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिएको बताउँदै सेवा प्रवाहमा लापरबाही गर्ने स्वास्थ्य कर्मीलाई गाउँपालिकाले माफी नगर्ने भन्दै सेवा सुबिधाका लागि कुनै पनि कमी नगर्ने स्वास्थ्य चौकीमा आवश्यक न्यूनतम पूर्वाधारहरू उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । स्वास्थ्य केन्द्र स्थापना गर्दा दाडीमाटी, नारीदांग, अमगाउ कौडामा स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । यसअघि सामान्य उपचारका लागि १ देखि ४ घण्टा समय लगाएर उपचारका लागि तिखार पुग्नु पर्ने बाध्यता रहेको स्थानीय सुन्तली विकले बताइन् ।

के आई सिंह गाउँपालिकामा एक जना स्वास्थ्य कर्मीले १२ सय जना बिरामीको उपचार गर्नुपर्ने अवस्थाबाट अहिले ७ सय बिरामी हेर्नू परेको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिल बहादुर बोहराले बताए । शुक्रवार उद्घाटन गरिएको सामुदायिक स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचारका साथै प्रसूति सेवा पनि दिइने बोहराले जानकारी दिए । यो सँगै गाउँपालिकाका दुर्गम ८ क्षेत्रमा आधारभूत स्वास्थ्य संस्था बिस्तार भएको समेत बोहराले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना विष्ट, वडा अध्यक्ष, वडा सदस्य, सरोकारवाल, स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस