काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बरद्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको भन्दै उनले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नपाइने सन्देशमा उल्लेख छ ।
विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताइएको छ । विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम हुँदै आएको र यस पर्वले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउने सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।







