भारतमा नागरिकतासम्बन्धी नयाँ कानून विवादमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतमा नागरिकतासम्बन्धी नयाँ कानून विवादमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो


५ पुस २०७६, शनिबार


नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

‘शुक्रबार मृत्यु भएकामध्ये दुई जना छिमेकी जिल्ला मुजफ्परनगरका नागरिक हुन् भने दुई मिरूतका स्थानीय हुन्,’ मिरूतका प्रमुख मेडिकल अधिकृत राजकूमारले एएफपीलाई बताए ।

प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार : भारतमा आन्दोलन जारी, तीनको मृत्यु, सयौं पक्राउ

प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ ।

सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानूनी व्यवस्था गरिएको छ । तर भारतीय मुस्लिमहरुले कानूनले मुसलमान समुदायमाथि विभेद गरेको आरोपसहित प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस