बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता


४ पुस २०७६, शुक्रबार


सिमकोट । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा ३ लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् ।

ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै पढाइ छाड्ने क्रम बढेको हो । लामा समुदायमा पढाइको महत्व कमै देखिने गरेको छ । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । ‘पढेर के हुन्छ सम्पति कमाउनु पर्छ, धनी हुनुपर्छ’ भन्ने पुरानो सोचाइले पनि अध्ययनमा चासो नदिएको बताइन्छ ।

सिमकोट गाउँपालिका–३ का च्याबुटी लामाले विवाह भन्ने के हो भनेर थाहा नपाउँदै १३ वर्षमा मागी विवाह गरेको बताइन् । उनले भनिन् ‘ एक छोरा, एक छोरी रहेको छन् । सानै उमेरमा आमा बन्नुपरेकाले आफ्नो बालपन कसरी बित्यो थाहा छैन ।’ लामा समुदायमा मागी विवाह गर्ने चलन कायम रहेको छ ।

‘छोरी मान्छेलाई पढ्न पठायो भने आफ्नो जात छोडछन् ,समाजमा नराम्रो हुन्छ’ भन्ने पुरानो सोचले आफूहरु पढ्नबाट वञ्चित भएको लामाले गुनासो गरिन् । आफ्नो रीतिरिवाजलाई बचाउन र संस्कार छोड्न नसक्दा लामा समुदायमा बढी बालविवाह हुने गरेको बताइएको छ ।

महिला कल्याण सेवाका कार्यकारी निर्देशक लक्ष्मी लामा ‘ लामा समुदायमा शिक्षाको धेरै आवश्यकता रहेको छ । शिक्षा विना महिला हिंसा, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा कम हुन सक्दैन । ‘

लामा समुदायका महिलाको शिक्षामा पहुँच बढाउनका लागि दाइजो र काम सिकाउने होइन शिक्षामा जोड दिनुपर्ने उनले सुझाव दिइन् । सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बालविवाह अन्त्यका लागि छोरीलाई मासिक रु ५०० भत्ता दिने कार्य प्रभावकारी हुने बताए । हुम्लासहित कर्णालीका दशवटै जिल्लामा बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक रु ५०० प्रदान गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस