धनुषामा बम विष्फोट हुँदा एकै परिवारका दुईको मृत्यु, प्रहरी इन्सपेक्टरसहित चार घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनुषामा बम विष्फोट हुँदा एकै परिवारका दुईको मृत्यु, प्रहरी इन्सपेक्टरसहित चार घाइते


२८ मंसिर २०७६, शनिबार


काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट हुँदा अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

विष्फोटमा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ ।

प्रतिक्रिया दिनुहोस