एक व्यक्तिको शरीरबाट झिकियो साढेसात किलोको मृर्गौला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक व्यक्तिको शरीरबाट झिकियो साढेसात किलोको मृर्गौला


११ मंसिर २०७६, बुधबार


काठमाडौं । भारतमा एक व्यक्तिको शरीरबाट साढे सात किलोको मृर्गौला झिकिएको छ । भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका हुन्। जुन दुई नवजात शिशुको तौल बराबरको थियो ।

भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको जनाईको छ ।

सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति मात्रै हुन्छ।

ती बिरामी ‘अटोसमल डोमिनेन्ट पोलिसिस्टिक किड्नी डिजीज’ भनिने रोगबाट पीडित थिए जुन रोगका कारण शरीरभरि ‘सिस्ट’ उत्पन्न हुने गर्छ।

शल्यक्रियामा संलग्न एकजना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो।

यद्यपि, दिल्लीस्थित सर गङ्गाराम अस्पतालका डा. सचिन कथुरिआले बताए अनुसार सङ्क्रमण र आन्तरिक रक्तस्रावको लक्षण नदेखिएसम्म र शरीरभित्र केही हदसम्म छान्ने काम गरिरहेको अवस्थामा बिरामीको शरीरबाट मिर्गौला झिकिँदैन।

‘यी बिरामीमा एउटा नराम्रो सङ्क्रमण देखिएको थियो जसका कारण एन्टिबायोटिकले काम गरिरहेको थिएन र मिर्गौलाको आकारले उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। अतः त्यसलाई झिक्नुको विकल्प हामीसँग भएन, उनले भने।

डा. कथुरिआका अनुसार चिकित्सकहरूले ठूलै मिर्गौला हुन सक्ने अनुमान गरेका थिए, तर त्यसको आकारले उनीहरूलाई झन् चकित बनायो।

उनले भने, ‘मिर्गौला त हामीले अनुमान गरेकोभन्दा पनि ठूलो रहेछ।’

उनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा अहिलेसम्म सबैभन्दा ठूलो मिर्गौला साढे ४ किलोको दर्ता भएको छ।

यद्यपि मूत्र रोगसम्बन्धी जर्नलका अनुसार त्योभन्दा ठूलो आकारका मिर्गौला पनि पाइएका छन्।

यसअघि संयुक्त राज्य अमेरिकामा एउटा नौ किलोको पाइएको थियो भने द नेदरल्याण्ड्समा ८.७ किलोको पाइएको थियो।

गिनिज वर्ल्ड रेकर्डमा दर्ताका लागि जाने अथवा नजाने भन्ने विषयमा आफूहरूले विचार गरिरहेको डा. कथुरिआले बताए।

एनएचएस वेबसाइटका अनुसार पोलिसिस्टिक किड्नी डिजीज वंशाणुगत रोग हो जुन ३० देखि ६० वर्षको उमेरमा मानिसहरूमा देखिन्छ। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस