प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति डा.यादव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति डा.यादव


१ मंसिर २०७६, आइतबार


जलेश्वर । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै आज उनले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए ।

उनले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उनले देश र जनताका भलाइ र समुचित विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाउनुभयो । त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए ।

कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासंघको प्रथम तल्लाको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस