क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु


३० कार्तिक २०७६, शनिबार


सान्ता क्लारिटा । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् ।

साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था अत्यन्त नाजूक रहेको प्रहरीले जनाएको छ ।

सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विगत दुई दशकमा अमेरिकी स्कुलहरुमा भएका “मास सुटिङ” मा ३०० भन्दा बढी विद्यार्थी र किशोर किशोरीको मृत्यु भइसकेको छ ।

अमेरिकी संसदमा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाई गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लीकन पार्टी र डेमोक्र्याटिक पार्टीबीच सहमति हुन सकेको छैन । रिपब्लीकन पार्टीबाट प्रतिनिधित्व गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बन्दुकमाथि धेरै कडाई गर्न नहुने पक्षमा छन्, तर डेमोक्र्याट पार्टी कडा नियमको पक्षमा छ ।

प्रहरी अधिकृत केन्ट वेगेनरले एसियाली मूलका एक किशोरले आफ्नो झोलाबाट बन्दुक झिकेर साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनशायले आफैंलाई गोली हानेको जानकारी दिए ।

स्कुलमा गोली चलाउनुपर्ने कारणबारे केही खुलेको छैन ।

मृत्यु हुनेहरुमा १६ वर्षकी एक किशोरी र १४ वर्षका बालक रहेका छन् । घाइते हुनेहरुमा एक जना १४ वर्षीय बालक र दुईजना १५ वर्षका बालिकाहरु रहेका छन् ।

यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

अमेरिकी राष्ट्रपति, सभामुख, सिनेटरहरु तथा क्यालिफोर्नियाका गभर्नर समेतले पछिल्लो घटनाबाट आफूहरु अत्यन्त दुःखी भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस