प्रधानमन्त्री ओलीको सचिवालय पुनर्गठन : प्रेस, आर्थिक र विकास विज्ञ नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओलीको सचिवालय पुनर्गठन : प्रेस, आर्थिक र विकास विज्ञ नियुक्त


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रवारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उप प्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लाल शंकर घिमिरे र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलियालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरूको कार्यक्षमता चुस्त दुरुस्त नभएको भन्दै असन्तुष्टि जनाएपछि सचिवालयका सबैले राजीनामा दिने निर्णय भए पनि प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदा ६ जनाले मात्रै हस्ताक्षर गरेका थिए ।
नवनियुक्त सल्लाहकार तथा विज्ञहरूमा थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायक मन्त्री र थपलियालाई विशिष्ट श्रेणीको सुविधा हुने गरी नियुक्त गरिएको हो ।

नौ वर्ष अघि तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदासहायकमन्त्री सरहको प्रेस सल्लाहकार भएका थापालाई अहिले राज्यमन्त्री सरहको सुविधा दिइएको छ भने आर्थिक मामिला सल्लाहकारमा नियुक्त घिमिरे वैदेशिक ऋण सहायता लगायतका विषयमा दक्खल राख्दछन् । उनले केही समयअघि मात्र राजस्व सचिवबाट अवकाश पाएका थिए ।

त्यसैगरी विकास विज्ञको रूपमा नियुक्त धादिङका थपलिया यसअघि केपी ओलीको पहिलो कार्यकालमा विकास मामिलाका प्रमुख सल्लाहकार भएर काम गरेका थिए ।

निजी सचिवालयका १६ जना सदस्यमध्ये प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेल गरी ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ । उनीहरूले मङ्सिर १ गतेदेखि लागू हुनेगरि राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, स्वकीय सचिवहरू इन्द्र भण्डारी र राजेश बज्राचार्य, प्रेस विज्ञ रामशरण बजगाईँ, महेन्द्र श्रेष्ठ, होम थापा र दीपेन्द्र दाहाल तथा आइटी विज्ञ अस्गर अलिमध्ये कतिले निरन्तरता पाउने र को बाहिरिने भन्नेबारे यकिन नभई सकेको बालुवाटार स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस