सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद


२९ कार्तिक २०७६, शुक्रबार


नेपालको सार्वजनिक खरिद कानुन अनुसार ५ लाख भन्दा माथि २० लाख सम्मको मालसामान वा निर्माण कार्य खरिद गर्दा र ५ लाख भन्दा माथि पचास लाख रुपैयाँसम्मको एक्स-रे, इसिजी, औषधिजन्य मालसामान, रोगको निदान तथा उपचारको लागि प्रयोग हुने स्वास्थ्य सम्बन्धी उपकरणहरू खरिद गर्दा सिलबन्दी दरभाउपत्र आह्वान गरी खरिद गरिन्छ। सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तीमा पन्ध्र दिनको अवधि दिई सूचना प्रकाशन गर्नुपर्छ ।सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातको दस्तुर रु १००० हुन्छ

सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशन गर्दा तीनभन्दा कम सिलबन्दी दरभाउपत्र पेस हुन आएमा वा दरभाउपत्र पेस नै नभएमा दोस्रो पटक सूचना प्रकाशन गर्नु पर्छ। दोस्रो पटक सूचना प्रकाशन गर्दा पनि आवश्यक सङ्ख्यामा सिलबन्दी दरभाउपत्र पेस हुन नआएमा पेस हुन आएका दरभाउपत्रमध्येबाट दरभाउपत्र स्वीकृत गर्न सकिन्छ।

सिलबन्दी दरभाउपत्रको जमानत माग गर्दा स्वीकृत लागत अनुमान रकमको दुईदेखि तीन प्रतिशत रकमको सीमाभित्र रही निश्चित रकम तोकी सिलबन्दी दरभाउपत्र मागको सूचनामा जमानत रकम उल्लेख गर्नुपर्छ।यस्तो जमानत रकम नगद वा वाणिज्य बैङ्कबाट पचहत्तर दिनको मान्य अवधि रहने गरी जारी भएको बैङ्क जमानत (बैङ्क ग्यारेन्टी) सिलबन्दी दरभाउपत्र दिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सिलबन्दी दरभाउ पत्रसाथ पेस गर्नुपर्छ।

सिलबन्दी दरभाउपत्रको मान्य अवधि पैतालीस दिनको हुन्छ। सिलबन्दी दरभाउपत्र पेस गर्ने अन्तिम समय सकिएको लगतै सार्वजनिक निकायले सिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा तोकिएको स्थानमा सम्भव भएसम्म सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा सिलबन्दी दरभाउपत्र फाराम खोल्नु पर्छ।

मूल्याङ्कन समितिबाट दरभाउपत्रको मूल्याङ्कन र परीक्षण गराउनुपर्छ। पहिलो पटकको सूचना बमोजिम पेस भएका दरभाउपत्र मध्ये न्यूनतम तीन वटा दरभाउपत्र सारभूत रूपमा प्रभावग्राही हुने अवस्थामा मात्र सबैभन्दा कम कबोल अङ्क रहेको दरभाउपत्र स्वीकृतिका लागि मूल्याङ्कन समितिले छनौट गर्नु पर्छ ।

सिलबन्दी दरभाउपत्र खोलेको मितिबाट पन्ध्र दिनभित्र सार्वजनिक निकायले लागत अनुमान भित्र परेको न्यूनतम मुल्याङ्कित सिलबन्दी दरभाउपत्र स्वीकृत गर्नु पर्छ र सोको जानकारी सबै सिलबन्दी दरभाउपत्रदातालाई दिनु पर्छ।

सिलबन्दी दरभाउपत्र स्वीकृत भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित दरभाउपत्रदातालाई खरिद सम्झौता गर्न आउन सूचना दिनु पर्छ । सम्झौता गर्न आउँदा दरभाउपत्रदातालाई कार्य सम्पादन जमानत दाखिला गर्न भन्नुपर्छ । यसरी जमानत दाखिला गर्दा बोलपत्रदाताले लागत अनुमान भन्दा पन्ध्र प्रतिशतसम्म कम अङ्क कबुल गरेमा कबुल अङ्कको पाँच प्रतिशत र लागत अनुमानको पन्ध्र प्रतिशतभन्दा बढी घटेर कबुल गरेको अवस्थामा पन्ध्र प्रतिशत भन्दा जति रकमले घटी कबुल गरेको छ सोको पचास प्रतिशतले हुन आउने रकम कबुल अङ्कको पाँच प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत बापत दाखिला गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस