नेपाल महिला भलिबललाई ऐतिहासिक उपाधि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल महिला भलिबललाई ऐतिहासिक उपाधि


२८ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जितेको थियो ।

दोस्रो र तेस्रो सेटमा भने माल्दिभ्समाथि नेपालले एकतर्फी जित निकाल्यो । माल्दिभ्सको चुनौती दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-८ ले पाखा लगाउँदै नेपाल उपाधि चुम्न सफल भयो ।

योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।

यस अघि नेपाली भलिबलले जितेको ठुलो अन्तराष्ट्रिय पदक रजत पदक हो । महिला भलिबल टिमले नै सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो ।

त्यस्तै महिला टिमले दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य पदक जितेको छ ।

पुरुष भलिबल टिमले भने हालसम्म कास्य पदक मात्र जितेको छ । नेपाली पुरुष टिमले तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य जितेको थियो ।

यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस