सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन : जम्मकट्टेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको विरोध गर्ने नाममा व्यवस्थाको विरोध गर्नुहुँदैन : जम्मकट्टेल


२८ कार्तिक २०७६, बिहिबार


हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्ने बताएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी सञ्चारमाध्यमले समाचार तथा विचार सम्प्रेषण गर्नु नहुने उनको धारणा थियो ।

फ्रिडम फोरमले आज हेटौँडामा आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयको कार्यक्रममा मन्त्री जम्मकट्टेलले राज्यका विभिन्न निकायसम्म पहुँच नपुगेका नागरिकको आवाज बोल्नुपर्ने बताए । मन्त्री जम्मकट्टेलले स्वतन्त्रता, न्याय र समानताको कुरा बुलन्द गरेर समाजवाद निर्माणको यात्रा तय गर्नुपर्ने धारणा राखे । उनले पहुँच नपुगेका र तल्लोस्तरका जनताको अवस्था सारै कमजोर भएको बताए ।

यस्तै अवस्था कतिपय पत्रकारभित्र पनि रहेको र यो विभेदको अन्त्य जरुरी भएको मन्त्री जम्मकट्टेलको धारणा थियो । यस्तो अवस्था आउनुमा विगतदेखिको सोच र नबदलिएको मानसिकता र प्रणालीको दोष भएको उनले बताए । मन्त्री जम्मकट्टेलले पत्रकारको सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको र प्रेस स्वतन्त्रता तथा पत्रकारको उचित बेतनका लागि आफू विगतदेखि नै लागि परिरहेको उल्लेख गरे ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पत्रकारलाई समाचार सङ्कलनका लागि संवेदनशील क्षेत्रमा जाँदा प्रशासनलाई जानकारी गराएर जान अनुरोध गरे । प्रशासन वा प्रहरीसँग समन्वय गरेर जाँदा सुरक्षाका कारण उत्पन्न हुने जोखिम कम हुने उनको धारणा थियो ।

प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पत्रकारलगायत आमनागरिकको सुरक्षाको सवालमा प्रहरी सङ्गठन सदा सकारात्मक रहेको बताए । पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले पत्रकारले किन सुरक्षा ‘थ्रेट’ को सामना गरेका छन् भन्ने गहिरो मूल्याङ्कन हुनुपर्ने उनको धारणा राखे । पत्रकारलाई धम्की आउँदा किन आएको हो भन्ने छुट्याउनै समस्या भएको तथा पत्रकारकै पक्षमा बोल्ने वा नबोल्ने भनेर परिभाषित गर्नै समस्या भएको विष्टले बताए ।

सञ्चारिका समूह प्रदेश नं ३ का अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारको सुरक्षा कमजोर भएको बताइन् । महिलालाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, परिवारको सर्थन नपाएर महिला पत्रकारले पेशा परिवर्तन गर्नुपर्ने बध्याता आएको उनको धारणा थियो ।

कार्यक्रममा फ्रिडम फोरमका मकवानपुर संयोजक राममणि दाहालले देशमा हालसम्म ९७ पत्रकारमाथि प्रेस विरोधी गतिविधि भएको पाइएको बताइन् । दाहालले प्रदेश ३ मा मात्रै ३७ घटना भएको तथ्याङ्क सार्वजनिक गरेका थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस