सरकार जनताको जीवन फेर्ने अभियानमा छ : प्रवक्ता श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार जनताको जीवन फेर्ने अभियानमा छ : प्रवक्ता श्रेष्ठ


१८ कार्तिक २०७६, सोमबार


बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताएका छन् । नेकपा झापाको प्रचार विभागले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनतासँग पार्टीले गरेका बाचा र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको बताए ।

उनले भने, ‘राजनीतिक क्रान्तिलाई समृद्धिसँग जोड्ने काम भइरहेको छ ।’ सरकार सञ्चालनका दुई वर्षमा धेरै काम भएका उल्लेख गर्दै उनले केही कमीकमजोरी भए त्यसलाई सुधार्दै लगिने बताए । उनले भने, ‘दुई वर्षको अवधिमा धेरै काम भएका छन्, अझ धेरै गर्न बाँकी छन्, केही कमीकमजोरी भएका होलान्, त्यसलाई सुधार्नुपर्छ ।’

जनताले समृद्ध नेपाल बनाउने मूल जिम्मेवारी नेकपालाई दिएकाले सरकार सञ्चालनलाई नयाँ नेपाल बनाउने अभिभाराका रुपमा बुझ्नुपर्ने बताए । मुलुकमा विदेशी हस्तक्षेप हुन नदिइने बताउँदै उनले नेपालका बारेमा नेपालीले नै सोच्नुपर्ने उल्लेख गरे । मुलुक संघीय प्रणालीमा गएको र नयाँ प्रणालीमा जाँदा केही असहज परिस्थिति सिर्जना भएको उनको भनाइ थियो । पार्टी एकताका सन्दर्भमा प्रवक्ता श्रेष्ठले साङ्गठनिक संरचना एकीकरण चाँडै सम्पन्न हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस