उम्मेदवार टुङ्गो लगाउँदै कांग्रेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उम्मेदवार टुङ्गो लगाउँदै कांग्रेस


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

उपनिर्वाचनमा जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट सिफारिस भई आएका नामावलीउपर कांग्रेस पदाधिकारी बैठकले यसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेको छ ।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विधानअनुसार पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको थियो । स्थानीय तहका सदस्यमध्ये भने अधिकांश स्थानमा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस भई आएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते र स्थानीय तहका सदस्यका लागि भने कात्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।रासस

प्रतिक्रिया दिनुहोस