तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व हो : प्रम ओली


१० कार्तिक २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् । तिहार अर्थात् दीपावलीका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् ।

‘तिहार प्रकृति र पशुपक्षीसँग मिलेको छ, यसमा कागको पूजा, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा पनि गरिन्छन्’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘प्रकृतिका विभिन्न पक्षहरुबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बन हुन्छ ।’

प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताएका छन् । ‘यो चाड उज्यालोको चाड हो, दीप अर्थात् बत्तीहरु बालेर, उज्यालोको प्रतीक बत्ती बालेर चाड मनाउने गरिन्छ । यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न फुलहरु सबैभन्दा धेरै प्रयोग हुन्छ ।

यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रूपमा समेत लिन सकिन्छ ।’

सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस