उड्न ठीक्क परेको जहाज रोकिँदा विमानस्थलमै गरे यात्रुहरुले विरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उड्न ठीक्क परेको जहाज रोकिँदा विमानस्थलमै गरे यात्रुहरुले विरोध


१० कार्तिक २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उड्न ठिक्क परेका जहाज रोकिँदा यात्रुहरुले विमानस्थलमै विरोध गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा केहीबेर उडान अवतरण बन्द गरिँदा यात्रुहरुले विरोध गरेका हुन् ।

प्रधानमन्त्री ओली ७ कात्तिकमा अजरबैजान जाँदा पनि उडान अवतरण बन्द गरिएको थियो ।

यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि यात्रुहरु आक्रोशित बनेका थिए । आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाए । स्थिति असामान्य भएको थियो । स्थिति असामान्य बनेपछि प्रहरी नै बोलाउनु परेको थियो ।

काठमाडौंबाट भद्रपुरको उडान भर्न लागेको एसएचए ९४१ कलसाइनको विमानका यात्रुहरु भीभीआईपी उडानका कारण दुःख पाएको भन्दै ओर्लिएर विरोध जनाएका हुन् । यात्रुहरु विमानमा राखेर रनवेतर्फ जान लागेको विमानलाई रोकेर विमानस्थल प्रशासनले विमानको इन्जिन बन्द गराएपछि आफूहरुले बिरोध जनाएको एक यात्रुले बताए ।

यता विमानस्थल प्रशासनले भने ‘नोटाम’ जारी गरिएको समयमा भीभीआईपी उडानलाई असर नपरोस् भनेर केहीबेर विमान उड्न रोकिएको र घटना सामान्य भएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले प्रधानमन्त्री केपी शर्मा ओलीको फिर्ती सवारी क्रममा भीभीआईपी मुभमेन्ट प्रभावित नहोस् भनेर श्री एयरलाइन्सको विमान रोकिएको बताएका छन् । विमानस्थलले पहिल्यै नोटाम जारी गरिसकेको र घटना सामान्य भएको उनले बताए ।

‘श्री एयरलाइन्सको हवाई जहाज उड्नका लागि ठीक्क थियो । यात्रुहरुलाई बोर्डिङ पास दिएर हवाई जहाजतर्फ पठाइयो । यात्रुहरु बसिसकेपछि पाइलटले इन्जिन पनि स्टार्ट गरे । तर, भीभीआईपीको आगमन भन्दै नउड्न निर्देशन आयो । त्यसपछि पाइलटले हवाई जहाजको इन्जिन बन्द गरे । कुर्दाकुर्दै हैरान भएका यात्रुहरु आक्रोशित भए । उनीहरु जहाज उडाउन विमानका कर्मचारीलाई आग्रह गर्थे, तर माथिको आदेश भन्दै कर्मचारीहरु धैर्य गर्न आग्रह गर्थे ।

यसैक्रममा हवाई जहाजका कर्मचारी र यात्रुहरुबीच भनाभन् भएको थियो’, विमानस्थलका एक कर्मचारीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस