उपराष्ट्रपति पुनद्वारा विद्यालय भवनको शिलान्यास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति पुनद्वारा विद्यालय भवनको शिलान्यास


८ कार्तिक २०७६, शुक्रबार


सिमकोट । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताए । उनले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना तथा गौरवको योजना नेपाल सरकारको तालिकामा परिसकेको बताए ।

सो योजना सरकारको तालिकामा परेसँगै काम पनि तीव्रगतिमा भइरहेको र करीब ७०/८० किलोमिटर मात्रै हुम्ला आइपुग्न बाँकी रहेको उनले उल्लेख गरे । भारत र चीन जोड्ने ठूलो करिडोर तथा एउटा हाइवेका रूपमा यसलाई विकास गर्ने नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना रहेको उनले बताए । यसलाई फाष्टट्र्याकका रुपमा चीन र भारतसँग मोटरबाटो निर्माण गर्ने योजना रहेको पुनले बताए ।

मानसरोवर दर्शनका लागि हुम्लाबाट छोटो तथा सजिलो नाका भएकाले बाह्य पर्यटक यही जिल्ला भएर दर्शनका लागि जाने भएकाले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिनुपर्नेमा उनको जोड थियो । उनले कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि देश तथा विदेशबाट कैलाश, मानसरोवर दर्शनका लागि हजारौँ धार्मिक पर्यटक आउने हुँदा हुम्लाको मात्रै नभएर कर्णालीकै आर्थिक स्तरोन्नति हुने बताए ।

उपराष्ट्रपति पुनले हेलिकोप्टरमार्फत हिल्सा नाकामा गएर अवलोकनसमेत गरेका थिए । अवलोकनका क्रममा उनले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइदा लिनुपर्ने बताए । यसैगरी आजै भएको नमूना विद्यालयको शिलान्यास कार्यक्रममा उपस्थित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय निर्माण गर्ने बताए ।

कर्णाली प्रदेशमा पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य धार्मिक सभ्यता रहेको उनले बताए । कर्णाली भाषा संस्कतिको उत्पत्ति भएको प्रदेश भएकाले यसलाई प्रचारका रुपमा पनि लिनुपर्ने उनको भनाइ थियो । उनले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकाले सिमकोटमा एक वर्षभित्र सडक पुर्‍याउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस