सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल


८ कार्तिक २०७६, शुक्रबार


विराटनगर । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।

उनले दुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुनाले पार्टीभित्र छलफल र बहस हुनु सामान्य कुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने विचार राखे ।

‘अखबारमा आएका दुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको’ टिप्पणी गर्दै उनले आवश्यकताअनुसार दुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्ने धारणा व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्दछौँ भने ।

उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको प्रष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस