मानव पुँजीको व्यवस्थापन - प्रशासन प्रशासन

मानव पुँजीको व्यवस्थापन


प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०७:४२

ऊर्जा र उत्प्रेरणाको सञ्चार मार्फत सङ्गठन प्रति अपनत्व बोध सिर्जना र उत्पादकत्व क्षमतामा वृद्धि ल्याउनमा सहयोगी

श्रोतहरूको विवेकपूर्ण परिचालनमा निर्भर सङ्गठनको सफलता
सङ्गठनको सफलता सङ्गठनमा उपलब्ध मानवीय र गैर मानवीय श्रोतको विवेकपूर्ण परिचालनमा निर्भर रहने गर्दछ । मानव श्रोत चेतनालेयुक्त, सीपलेयुक्त र अन्य साधनश्रोतको परिचालनमा प्रभावकारिता ल्याउन सक्ने सामर्थ्य बोकेको श्रोत हो । यसैले सङ्गठनका विभिन्न श्रोतहरू मध्ये मानव श्रोतलाई सङ्गठनको पुँजी पनि भन्ने गरिन्छ । मानवपूंजी व्यवस्थापनको अवधारणाले मानव श्रोत वा जनशक्तिमा अन्तर्निहित सीप र क्षमताको भरपुर उपयोग गर्न मानव श्रोत व्यवस्थापनका हरेका आयाममा तदनुरूपको व्यवस्थापन रणनीति वा कार्य योजनाको कार्यान्वयनमा जोड दिएको हुन्छ । यस्ता रणनीति वा कार्य योजनाले जनशक्तिमा ऊर्जा र उत्प्रेरणाको सञ्चार भई सङ्गठन प्रति अपनत्व बोध सिर्जना भएको हुन्छ जसले उत्पादन र उत्पादकत्व क्षमतामा वृद्धि ल्याउनमा सहयोग गर्दछ ।

मानव पुँजी व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्यसहितको कुनै निश्चित कार्य निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानव श्रोत एउटा महत्त्वपूर्ण श्रोत हो । यसलाई मानव शक्ति, श्रम शक्ति, जनशक्ति, मानवपुँजी पनि भन्ने गरिन्छ । मानव शक्ति, श्रम शक्तिले अन्य साधनश्रोतहरु पुँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने संवेदनालेयुक्त महत्त्वपूर्ण श्रोत हो । यसैले यसको व्यवस्थापन पनि अति नै महत्त्वपूर्ण मान्ने गरिन्छ । मुलुकको समग्र विकासका लागि मानव साधन सधैँ महत्त्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रूपमा रहने गर्दछ ।

अन्तर सम्बन्धित आयामहरू

रणनीतिक व्यवस्थापन
मानव संसाधन व्यवस्थापनको अभ्यास मानव सभ्यताको विकासक्रमसँगै हुँदै आएको हो । यद्यपि यसको व्यवस्थित विकास सुरु भएको भने केही दशक मात्र भएको छ । मानव श्रोतको प्रभावकारिताबाट अन्य साधनश्रोतहरु पुँजी, औजार, वस्तु, सूचनाको परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरू मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्त्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रूपमा चिनिने सन्दर्भमा मानव पुँजी व्यवस्थापनको नामले चिनिने गरेको हो । मानव पुँजी व्यवस्थापनले मानिसहरूको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्‍याउंछ । यसले मानवीय साधनहरूको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक सम्भार, एकाकार, अवकाश,अवकाश पश्चातको योजना र अवकाश व्यवस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव पुँजी व्यवस्थापन यी सबै कार्यहरूको श्रृंखलावद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरूप हो । यी सबै चरणवद्ध श्रृंखलाहरुको विवेकपूर्ण, दिगो र परिणाममूलक व्यवस्थापन कौशलता नै मानव पुँजीको रणनीतिक व्यवस्थापन हो ।

जनशक्तिलाई रणनीतिक साधनको रूपमा लिई मानव संसाधनसँग सम्बन्धित सबै कार्यहरूबिचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव पुँजी व्यवस्थापनको अर्को महत्त्वपूर्ण पक्ष हो । सरल रूपमा भन्ने हो भने सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तहहरू प्रचलनमा रहँदै आएकोमा मानव पुँजी व्यवस्थापनले प्राप्तिपूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरूप मानव श्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुँदै आइरहेको छ । मानव संसाधन व्यवस्थापनमा भएको यो विकासले मानव संसाधनको रणनीतिक व्यवस्थापनमा जोड दिएको छ । रणनीतिक व्यवस्थापनले मानव संसाधन व्यवस्थापनका सबै चरणहरूमा सबल, कमजोर, अवसर र चुनौतीका पक्षहरूबिच सामन्जस्यता र सो अनुरूपको कार्य योजनाको माग गर्दछ ।

विवेकपूर्ण प्रतिभा व्यवस्थापन
मानव पुँजीको विवेकपूर्ण व्यवस्थापन नै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पुँजीको रूपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यबाट अभिप्रेरित गर्ने गर्दछ । साधारण अर्थमा प्रतिभा व्यवस्थापन सङ्गठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो । प्रतिभा व्यवस्थापनको यो बुझाइले सङ्गठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानव श्रोत व्यवस्थापनको समग्र पक्ष र चक्रसँग सम्बन्ध राख्ने विषय हो । प्रतिभा व्यवस्थापनका मूलतः निम्न चार चरणहरू रहने गर्दछन् यी चारै चरणको सुझबुझ र सबल र दुर्बल पक्षको व्यवस्थापन नै मानवपुँजीको विवेकपूर्ण व्यवस्थापन हो ।

१.प्राप्तिपूर्वक चरण : प्रतिभा आकर्षणको चरण
जनशक्ति योजना मावपूंजी व्यवस्थापनको प्राप्ति पूर्वको चरणमा पर्दछ । साङ्गठनिक उद्देश्य प्राप्तिद्वारा राष्ट्रिय उद्देश्य प्राप्ति का लागि प्रतिभावान् मानव श्रोत सबभन्दा महत्त्वपूर्ण पक्ष हो । यस चरणमा सङ्गठनको लागि आवश्यक पर्ने उमेर समूह, योग्यता र सीपको क्षेत्र, विज्ञताको क्षेत्र आदिको विश्लेषण गरिन्छ र सो अनुरूप त्यस्ता जनशक्तिको उत्पादन गर्ने रणनीति लिइन्छ । जनशक्ति योजना साङ्गठनिक र राष्ट्रिय तह गरी दुई तहमा निर्माण हुने गर्दछ । यी दुवै तहको आवश्यकताको आधारमा विभिन्न शैक्षिक संस्थाहरूले लामो समयको अन्तराल पछि श्रम बजारमा क्षमतावान् र प्रतिभावान् जनशक्ति तयार गर्ने गर्दछन् । यी प्रतिभावान् जनशक्ति नै पछि गएर सङ्गठनका पुँजी बन्ने गर्दछन् ।

२. प्राप्तिको चरण : क्षमतायुक्त जनशक्तिको प्राप्ति
क्षमतावान् जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया मानवपुँजी व्यवस्थापनको अर्को महत्त्वपूर्ण चरण हो । श्रम बजारमा उपलब्ध जनशक्ति मध्ये सङ्गठनलाई आवश्यक पर्ने क्षमतावान् जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तर्गत पर्दछ । यसमा कुनै निश्चित सङ्गठनका लागि आवश्यक जनशक्तिलाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम द्वारा क्षमतावान् जनशक्तिलाई सङ्गठनमा प्राप्त गर्ने गरिन्छ । सङ्गठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया निम्न आधारमा आधारित हुनु पर्दछ

  • प्रतिस्पर्धाको आधार
  •  निष्पक्षताको आधार
  •  प्रतिस्पर्धामा समान रूपमा सहभागिता जनाउन पाउने अवसरको आधार
  •  सहभागीहरूको प्रतिस्पर्धालाई तटस्थ र निष्पक्ष रूपमा परीक्षण गर्ने आधार

३. उपयोग र विकासको चरण : क्षमताको उपयोग र सामयिक विकास
श्रम बजारमा उपलब्ध क्षमतावान् जनशक्तिको प्राप्तिले मात्र सङ्गठनको आवश्यकता पूर्ति हुँदैन यस्तो क्षमतावान् जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको महत्त्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा निम्न आधारहरू लिने गरिन्छ :

  • विज्ञताको आधार
    •  जुन कामको लागि लिइएको हो सो काममा लगाउने
    •  योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा कार्य विनियोजन गर्ने
  • परिणाम र उत्तरदायित्वको आधार
    •  कार्य विवरणको आधारमा काममा लगाउने
    •  कुन काम के कसरी कुन प्रक्रियाद्वारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने
    • कार्य सम्पादन मूल्याङ्कन प्रणाली
  • सक्षमताको आधार
    •  योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने
  • स्थान अनुरूप व्यक्तिको उपयुक्तताको आधार
    •  सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने
  •  उत्प्रेरणाको आधार
    •  आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतीकरण, कार्य पुष्टीकरण आकर्षक तलवमान र उत्प्रेरणा (मौद्रिक तथा गैर मौद्रिक)का माध्यम द्वारा क्षमतावान् जनशक्तिलाई सङ्गठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने
  •  क्षमतावान् जनशक्तिलाई सङ्गठनमा टिकाइराख्ने आधार
    •  आकर्षक, पूर्वानुमान युक्त र पारदर्शी वृत्ति मार्ग,
    •  क्षमतावान् जनशक्ति आकर्षण गर्ने र टिकाइराख्ने रणनीति
  •  काम अनुसारको तलब भत्ता र अन्य सुविधाहरू
  •  मौद्रिक तथा गैर मौद्रिक प्रोत्साहन व्यवस्था
  •  सेवा सर्तको सुरक्षा र सेवा अवधिको सुरक्षा
  •  बिदा,उपचार खर्च र पारिवारिक र सामाजिक संस्कारको सम्मान
  •  सङ्गठन एउटा सुमधुर सम्बन्ध सहितको परिवारको अवधारणा
  •  पेशागत व्यवसायिकताको प्रवर्द्धन : पेशागत विज्ञताबाट उत्पादकत्व वृद्धि
  •  जनशक्ति विकास : सङ्गठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्तिसँग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृद्धि ल्याउनमा विकास (तालिम) को अहम् भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरू मध्ये महत्त्वपूर्ण र प्रभावकारी अवयवको रूपमा चिनिने गर्दछ । सङ्गठनमा एक पटक लिइएको जनशक्तिलाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तनको परिवेशमा सामयिक रूपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्त्वपूर्ण विषय हो । मानव श्रोत व्यवस्थापनमा विकास को महत्त्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तनसँगै ज्ञान, सीप, र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई सङ्गठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पुर्‍याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्तिलाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।

४. बहिर्गमनको चरण : योगदानको सम्मानको रणनीति

  •  अवकाश
    •  अनिवार्य अवकाशको हद
    •  पदावधिको आधारमा अवकाश
    •  बाध्यात्मक अवकाश
    •  स्वैच्छिक अवकाश
  •  अवकाश योजना, अवकाश व्यवस्थापन
    • निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलब वृद्धिको आधारमा निवृत्तिभरणमा थप
    • विज्ञताको अनुभव लिन सकिने व्यवस्था

जनशक्ति सङ्गठनका पुँजी तथा अमूल्य निधी
सङ्गठनमा उपलब्ध सबै जनशक्ति सङ्गठनका पुँजी तथा अमूल्य निधी हुन। तथापि केही जनशक्तिको क्षमता सङ्गठनमा अन्य जनशक्तिको क्षमता भन्दा निकै बढी हुन्छ र यिनीहरू सङ्गठनको दैनिक कार्यलाई व्यवस्थित गर्न अपेक्षित परिणाम निकाल्न र सङ्गठनको साख अभिवृद्धि गर्न प्रखर साबित भएका हुन्छन् । यसर्थ यिनीहरूलाई समूहगत कार्य, टोलीगत कार्य, विशेष भूमिका, समन्वयकारी भूमिका आदि द्वारा उनीहरूको क्षमताको अधिक भन्दा अधिक रूपमा प्रयोग गर्न सकिन्छ । साथसाथै अन्य तुलनात्मक रूपमा मध्यम वा निम्न क्षमताका कर्मचारीहरूलाई विकासको तालिम जस्ता अन्य उपागमद्वारा उनीहरूको क्षमतालाई सामयिक रूपमा तिखारी राख्नुपर्ने हुन्छ । साथै सङ्गठनमा उर्जाशील, उत्पादनशील र सृजनशील जनशक्तिको अन्यत्र पलायनलाई पनि रोक्नु पर्ने हुन्छ ।

सन्दर्भ सङ्घीयताको
सङ्घीय संरचनामा तीनै तहका सरकारमा जनशक्तिको अति नै महत्त्वपूर्ण भूमिका रहने गर्दछ । सरकारको कामको प्रभावकारिता जनशक्तिको कुशल कार्यक्षमतामा भर पर्ने गर्दछ । यसर्थ सङ्घीय संरचनामा मानवपुँजी व्यवस्थापन अति नै महत्त्वपूर्ण आयमको रूपमा रहने गर्दछ । यसको लागि सङ्घीय मानवपुँजी वा मानव व्यवस्थापन नीति छाता नीतिको रूपमा रहनु आवश्यक छ भने प्रादेशिक र स्थानीय नीतिहरू मानवपुँजी वा मानव व्यवस्थापनको सङ्घीय छाता नीतिको अनुकूल हुने गरी प्रादेशिक र स्थानीय आवश्यकता पूर्ति गर्ने खालको हुनु आवश्यक छ ।

(प्रशासन, विकास र सङ्घीयता विषयमा नियमित कलम चलाइरहने लेखक दामोदर रेग्मीका लेखहरू प्रशासन डटकम र दामोदर रेग्मी डटकम डट एनपी मा पढ्न सकिन्छ )

Tags: , , ,

प्रतिक्रिया दिनुहोस