पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन


२ कार्तिक २०७६, शनिबार


School

अमरगढी । डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ ।

“खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् ।

“पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?” मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भन्नुभयो, “विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन ।”

खोलाबाट पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्ने वीरबलभद्र मावि मैदेका विद्याथी ममता विक बताउँछन् । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भए पनि पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गरे । लाखौँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरा खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सीमित भएको छ ।

विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएका छन् । “सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ”, नवदुर्गा–१ का मोहन बोहराले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस