फोक्सुण्डोमा साइकल यात्रा : स्वर्ग नै हो फोक्सुण्डो, भगवान् नै हुन् त्याहाका मान्छे ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फोक्सुण्डोमा साइकल यात्रा : स्वर्ग नै हो फोक्सुण्डो, भगवान् नै हुन् त्याहाका मान्छे !


१ कार्तिक २०७६, शुक्रबार


डोल्पा । नेपालकै सबैभन्दा गहिरो र सुन्दर ताल फोक्सुण्डोमा पहिलो पटक ठुलो सङ्ख्यामा साइकल र्‍याली गरिएको छ । क्याराभान थिन्ले पदमार्ग नामकरण गर्न दबाब स्वरूप पहिलो पटक साइकल र्‍याली गरिएको हो ।

डोल्पाकै पहिलो साइकल यात्री रामचन्द्र बस्नेत(भास्कर)ले फोक्सुन्डो पदमार्गलाई क्याराभान थिन्ले साइकल पदमार्ग राख्नुपर्ने भन्दै सरकारलाई दबाब दिन फोक्सुण्डोमा पहिलो पटक साइकल यात्रा गरेको बताए ।

यही असोज २६ र २७ गते दुई दिन १७ जना साइकल यात्रीहरूले फोक्सुण्डो तालमा साइकल र्‍याली गरिएको भास्करले जानकारी दिए । उनले भने ‘डोल्पाले मात्रै हैन, नेपालले क्याराभान फिल्मका नायक थिन्ले लुण्डुप लामालाई बिर्स्यो तर हामीले साइकल यात्रा गरेर थिन्ले चिनाउने प्रयास थालेका छौ ।’

देशकै चर्चित साइकल यात्रीहरूसहितको १७ जना साइकल यात्रीको टोलीले पहिलो पटक फोक्सुण्डोमा साइकल र्‍याली गरेका छन् । यसभन्दा पहिले पैदलमा एक पटक र रुकुमबाट एक पटक साइकल यात्रा गरी सकेको पनि उनले जानकारी दिए ।

ई.सं. १९२५ मा काठमाडौँमा स्थापना भएको पानिक बाइक(पञ्चअष्ट नारायण साइकल) नामक संस्थाको विशेष पहलमा डोल्पाको फोक्सुण्डोमा साइकल प्रदर्शनी गरेको साइकल यात्री विजय रत्न शाक्यले जानकारी दिए ।

शाक्य भन्छन् ‘भिजिट २०२० मा पर्यटक भित्र्याउन सरकारलाई सहयोग गरेकै हो तर भिजिट नेपाल २०२० एक पटक मात्रै आउँछ, हामीले हरेक दिन भिजिट गर्ने गर्नु नै नेपालको लागि सफलता हो ।’

सबैले बिर्सन लागेका क्याराभान फिल्मका नायक थिन्ले लुण्डुप लामाको नाम फेरि एक पटक विश्वलाई चिनाउन फोक्सुन्डोमा नै साइकल यात्रा गरिएको र स्थानीय सरकार, निकुञ्ज, प्रदेश सरकारका साथै केन्द्र सरकारले विशेष प्राथमिकतामा राखेर यो पदमार्ग थिन्लेकै नाममा नामकरण गरे जहिल्यै पर्यटकको घुइँचो हुने शाक्यले दाबी गरे ।

बहिरा साइकल यात्री ५१ वर्षीय उदय बहादुर श्रेष्ठ र रोशन कुमार श्रेष्ठ देखी पहिलो महिला साइकल यात्री २३ बर्षिया दाडिकु सेर्पा समेतको टोलीले तिन्लेलाइ सम्झँदै फोक्सुण्डोमा साइकल यात्रा गरेका छन् ।

फोक्सुण्डोसम्म पुग्न हिँड्न नै धौ धौ हुने बाटोमा साइकल यात्रा निकै चुनौतिपूर्ण रहेको दाडिकु सेर्पाले सुनाइन् । ‘बाटोमा सुचनामुलक कुनै पनि नक्साहरू छैनन्, उनले भनिन् ‘पर्यटकले निकै दुःख पाउने गरेका छन् ।’

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति एक सय रुपैयाँ भए पनि त्यसबापत भने कुनै पनि सुविधा नदिएको स्थानीयको गुनासो छ । सुरक्षामा खर्टिका सुरक्षाकर्मि र निकुञ्जका कर्मचारीहरू व्यवहारिक नभएको साइकल यात्री बिजयरत्न शाक्यले दुःख व्यक्त गरे ।

शाक्यले भने ‘स्थानीयले गरेको स्वागत भने कहिले भुल्न नसकिने छ, बस्न कुनै समस्या छैन, थोरै शौचालयको व्यवस्थापन भए स्वर्ग नै हो फोक्सुण्डो अनि भगवान् नै हुन् त्याहाका मान्छे ।

साइकल यात्रीहरूका लागि हिमालयन क्याम्पीयन ट्रेक एण्ड एक्सपेडिशन र एक्सप्लोर डोल्पो एण्ड एक्सपेडिशनले आर्थिक सहयोग गरेका छन् भने केही सहयोग स्थानीय सरकार शे-फोक्सुण्डो गाउँपालिकाले समेत गर्ने भएको छ ।

२०७३ साल वैशाख १२ गते फोक्सुण्डोकै पदयात्रामा क्याराभान नायक थिन्लेको घोडाबाट लडेर निधन भएको थियो । थिन्लेकै नामबाट फोक्सुण्डोको पदयात्रामा क्याराभान थिन्ले साईकिलिङ पदयात्रा नामकरण गर्न सके डोल्पामा पर्यटकहरूको सङ्ख्या दुई गुणा बढ्ने साइकल यात्रीहरूको दाबी रहेको छ ।

फ्रान्सेली नागरिक एरिक भ्यालीले निर्देशन गरेर बनाएको माथिल्लो डोल्पाको जनजिवनसँग जोडिएको फिल्म क्याराभान ओस्कार जित्न सफल चलचित्र हो । क्याराभानका नायक थिन्लेको निधन पछि कसैले पनि सम्झन भने सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस