जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ६४ पुग्यो


२८ आश्विन २०७६, मंगलबार


टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको जनाएका छन् ।

आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरिरहेको छ, जापानी उद्योग मन्त्री ईशु सुगवाराले ३४ हजार व्यक्ति बिजुलीविना बसिरेहका पुष्टि गरेका छन् ।

सुगवाराका अनुसार आँधीले कडा प्रभावित चिवा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन, नागानो प्रान्तका १२,००० घर बिजुलीविहीन रहेका छन् ।

सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुनको लागि एक हप्तासम्म लाग्न सक्ने बताइएको छ । तेह्र वटा प्रान्तको १ लाख ३३ हजार घरहरुका पानी आपूर्ति बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । रासस/सिन्ह्वा

 

 

Tags :
प्रतिक्रिया दिनुहोस