नेकपा नेतालाई गगन थापाको आग्रह : प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा नेतालाई गगन थापाको आग्रह : प्रधानमन्त्रीलाई आराम गर्न दिऊँ


१८ भाद्र २०७६, बुधबार


कर्मचारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले नेकपासँग प्रधानमन्त्री ओलीलाई विश्राम दिन आग्रह गरेका हुन् ।

‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरै पटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु । हामी हाम्रो बा बिरामी हुनुभएको भए धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस् भन्छौं । हामी प्रधानमन्त्री बालाई यसो भन्न किन सक्दैनौं ? ,’ प्रश्न गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई विश्राम लिन दिनुस् । किनकी नेपालको यत्रो ठूलो आन्दोलनमा योगदान पुर्याउनुभएको, नेपालको शान्ति प्रक्रियामा यत्रो ठूलो योगदान पुर्याउनुभएको, यत्रो ठूलो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको, स्वाभिमानको लडाइँमा एउटा अथक लडाइँ लड्नुभएको प्रधानमन्त्री हामी हाम्रोबीचमा लामो समयसम्म अभिभावकको रुपमा देख्न चाहन्छौं ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सरकारले संसदलाई जानकारी नगराउँदा निजी चिकित्सकलाई उद्धृत गरेर सञ्चारमाध्यममा आएका समाचारबाट जनताले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाइरहेकोमा थापाको गुनासो थियो । ‘सरकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा संसदलाई जानकारी गराएको छैन । जनताले आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले आफ्नो उपचारको खर्च आफैं व्यहोर्ने कामको प्रशंसा गर्दै थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस