दबाबमा सरुवा भएका सीडीओको स्थानीयद्वारा बाजागाजासहित बिदाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दबाबमा सरुवा भएका सीडीओको स्थानीयद्वारा बाजागाजासहित बिदाइ


१५ भाद्र २०७६, आइतबार


काठमाडौँ । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश सुनारलाई स्थानीय बासिन्दाले फूलमाला लगाई बाजागाजासहित बजार परिक्रमा गराएर बिदाइ गरेका छन् ।

गत बिहीबार गृह मन्त्रालयले प्रकाशित गरेको दुई दर्जन बढी सरुवा सूची अनुशार जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ पठाइएका सुनारलाई सर्वसाधारणले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका हुन् ।

निजामतीमा सरुवा, बढुवा नियमित प्रक्रिया भए पनि पछिल्लो समय अनेकथरी आस्था तथा प्रभावका आधारमा सरुवा हुँदै आएको छ । बझाङका सीडीओ सुनारको सरुवाको कारण पनि राजनीतिक प्रभाव मानिएको छ । पछिल्लो समय देशभरि नै डोजरे विकासले चर्चा पाइरहँदा बझाङमा त्यसको नियमन गर्न खोजेपछि सुनारसँग केही जनप्रतिनिधिहरू रुष्ट बन्दै आएका थिए ।

जता मन लाग्यो उतै डोजर चलाउन थालेपछि त्यसले निम्त्याउने विनाशबारे कडा रूपमा प्रस्तुत भएका सुनारले डोजर नै नियन्त्रणमा लिएपछि केही जनप्रतिनिधिहरू उनको सरुवा गराउन खुलेरै लागेका थिए । उनको सरुवाका लागि गृह तथा प्रधानमन्त्री कार्यालयसम्मै कुरा उठाइएको थियो ।

बझाङ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजासहित सहर परिक्रमासहित बिदाइ गरिएको यो पहिलो घटना हो ।

Tags :
प्रतिक्रिया दिनुहोस