पोल गाडेको दुई वर्षपछि बिजुली « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोल गाडेको दुई वर्षपछि बिजुली


१३ भाद्र २०७६, शुक्रबार


बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो ।

स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो । “हामीले धेरै प्रयत्नका साथ शुरु गरेको काम दुई बर्षपछि पोल गाड्ने र तार टाँग्ने काम शुरु गर्‍यौँ”, स्थानीयवासी फुर्साङ तामाङले भने, “अब पोल गाडेको र तार टाँगेको दुई वर्षपछि नै बत्ती बाल्न शुरु गर्‍यौँ ।” नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो ।

तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मटिर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ । उनका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ ।

अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको गाउँपालिका वडाध्यक्ष रामबहादुर मोक्तानले बताए । अहिले सो ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको उनले बताए । “अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ”, उनले भने ।

कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ । बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक धु्रव रायमाझीले बताए । उनका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी पाँच करोड १७ लाख लागतमा करीब एक हजार घरधुरीले बत्ती बाल्ने रायमाझीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस