रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु


१२ भाद्र २०७६, बिहिबार


बेझाड । पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गरेका हुन् ।

दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गरेका छन् । उनको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार हजार फूलका बिरुवा रहेका छन् ।

रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको मालाको खपत बढ्न थालेको देखेपछि फूलखेती शुरु गरेको थापाले बताए । बिरुवाको माग राम्रै भएकाले अर्को वर्ष व्यवसाय बढाउने थापाको सोंच छ ।

उनको नर्सरीमा फूलका बिरुवा खरीद गर्न र हेर्न जानेको चहलपहल बढ्दो छ । एक बिरुवाको रु २० मा बिक्री हुँदै आएको छ । विदेशबाट फर्केर दुई वर्षदेखि गाउँमा तरकारीखेती शुरु गरेका थापाले यो वर्ष फूलखेतीलाई पनि अगाडि बढाएका हुन् ।

एक महीनाअघि एकहप्ते व्यावसायिक पुष्पखेती, नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालीम लिएर फर्केपछि फूलखेतीमा सौख बढेको उनले बताए । घरको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाका लागि आवश्यक बिरुवा तयार गर्ने उनको भनाइ छ । हाइब्रिड जातको मखमली र हाइब्रिडसँगै उन्नत जातको सयपत्री फूल उनले लगाएका छन् ।

यहाँको उर्वरा कृषि समूह काँसजरीले एक हजार फूलका बिरुवा खरीद गरेर लगाएको छ । तिहार पर्वमा फूल उत्पादन गरेर बिक्री गर्ने गरी समूहले थापाको नर्सरीबाट बिरुवा खरीद गरी लगाउन शुरु गरेको सीमादेवी रानाले बताए ।

समूहका १८ जना महिलाले एक रोपनी बढी जग्गामा फूलखेती शुरु गरेको रानाको भनाइ छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्व प्रति स्थानीयले चासो नदिँदा गाउँघरमै लोप हुन थालेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस