सामाजिक मूल्य मान्यतालाई ध्यान दिएर कानून निर्माण जरुरी : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामाजिक मूल्य मान्यतालाई ध्यान दिएर कानून निर्माण जरुरी : मुख्यमन्त्री पोखरेल


३ भाद्र २०७६, मंगलबार


रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक मूल्य र मान्यताअनुसार कानून निर्माण गर्न आवश्यक रहेकामा जोड दिएका छन् । उनले कानून निर्माणमा अन्तरराष्ट्रिय अभ्यासलाई मात्र हेर्दा सामाजिक सद्भाव खलबलिने र समाजमा अराजकता बढ्ने अवस्था सिर्जना भएकाले सामाजिक मूल्य र मान्यतालाई हेरेर कानून निर्माण गर्नु आवश्यक रहेको बताए ।

मुलुकी संहिता दिवस २०७६ का सन्दर्भमा संघीय सरकारको कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनको अन्तरराष्ट्रिय अभ्यासका नाममा सामाजिक संरचना र सद्भाव बिथोल्न नहुने धारणा राखे ।

‘हामीले कतिपय कानून निर्माण गर्दा अन्तरराष्ट्रिय अभ्यासलाई बढी ध्यान दियौँ तर त्यसलाई हाम्रो समाजले पूर्णरुपले स्वीकार गर्न सकेन ।’ उनले भने । मुख्यमन्त्री पोखरेलले मानवअधिकारको विषयबाहेकका विषयमा समाजका विशेषतालाई ध्यान दिनु आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले समाजभन्दा बाहिरबाट बनाइएका कानून नागरिकलाई बुझाउने दायित्व राज्यको भएको बताउँदै कानूनको अपरिहार्यता पुष्टि गर्ने काममा कानून मन्त्रालयले सार्थक संवाद आरम्भ गर्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले मुलुकी संहिता निर्माणको सर्जक सर्वोच्च अदालत भएकाले मुलुकी संहिताका कारण देखिएका अराजकता र जटिलताको सर्वोच्च अदालतबाटै गम्भीर विश्लेषण हुनु राम्रो भएको धारणा राखे ।

मुख्यमन्त्री पोखरेलले समाजको उच्च वर्ग कानून छलेर सुरक्षित हुन चाहेको र सर्वसाधारणले कानूनका सबै पक्षबाट लाभ लिन नसकेकोतर्फ सङ्केत गरे । मुख्यमन्त्री पोखरेलले भीडको मागको आधारमा न्याय सम्पादन हुन नहुने बताउँदै पछिल्लो समय भीडको मागमा अदालतसमेत प्रभावित हुँदै गएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस