नछोपिएको लाज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नछोपिएको लाज


२९ श्रावण २०७६, बुधबार


काठमाडौँ । हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै दोहोर्‍याएर ल्याएका सुशील ज्ञवालीको नेतृत्वमा छ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ।

०७२ वैशाख १२ को भूकम्पपछि तत्कालीन सुशील कोइराला सरकारले योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललाई प्राधिकरणको सिईओको जिम्मेवारी दियो । अध्यादेशमार्फत गठित प्राधिकरणको सिइयोबारे दलहरुबीच सहमति नहुँदा ६० दिन भित्र अध्यादेश स्वीकृत नभएपछि पोखरेल स्वतः पदमुक्त भए ।

काँग्रेसले उनै पोखरेललाई सिइयो बनाउनुपर्छ भन्दै गर्दा सरकारको नेतृत्व गरेको एमालेले बुटवल नगरपालिकाका इन्जिनियर सुशील ज्ञवालीलाई सीईओ बनायो । ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले ज्ञवालीलाई हटाउँदै डा. पोखरेललाई नै सिइओ बनाए । सङ्घीय संसद्को चुनावमा उम्मेदवार बन्न पोखरेलले राजीनामा दिएपछि पूर्वप्रशासक युवराज भुसाल प्राधिकरणको सिईओमा नियुक्त भए । पुनः ओली नेतृत्वको सरकारले भुसाललाई हटाएर २०७५ साउनमा तिनै ज्ञवालीलाई दोस्रो पटक प्राधिकरणको प्रमुख कार्याकारी अधिकृत बनायो ।

विपतमासमेत राजनीतिक भागबन्डा र खिचातानी गर्ने नेपाली प्रवृत्तिले आम नागरिक तथा मुलुकले त्यसको मूल्य चुकाउनु परेको घाम जतिकै छर्लङ्गै छ ।

चरम राजनीतिबाट गुज्रिँदै आएको प्राधिकरणको नेतृत्वमा यिनै केपी ओलीले दोस्रो पटक नियुक्त गरेका ज्ञवाली सिइओ छन् तर तिनै प्रधानमन्त्रीको कार्यालयको भने बेजोग छ । देशको प्रमुख प्रशासकीय अड्डा सिँहदरवारको लाज ढाक्न कसैले प्लास्टिकले छोपे त कसैले फलामे डन्डीले बाँधे । तर यसलाई समयमै उचित व्यवस्थापन गर्नतिर कसैको ध्यान पुगेन । जसका कारण ‘लोक लाज’ बनेर ठडिएको ‘सिंहदरवार भवन’ ….लाई भन्दा देख्नेलाई लाज जस्तै बनेको छ । पहिलो कार्यकालमा खासै उपलब्धि हासिल गर्न नसकेका ज्ञवालीको दोस्रो कार्यकाल पनि त्यति प्रभावकारी देखिएन । भूकम्प गएको पाँचौँ वर्षसम्म पुनर्निर्माण हुन नसकेको सिंहदरवारबारे केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशक नवराज प्याकुरेलसँग प्रशासन टिमले गरेको कुराकानीः

२०७२ मा भूकम्प आयो र त्यसको पाँचौँ वर्ष २०७६ सम्म पनि देशको प्रमुख प्रशासनिक केन्द्रस्थित प्रधानमन्त्रीकै कार्यायकै पुनःनिर्माण हुन सकेन, एकादेशको कथा बनाउन खोजिएको हो ?
२०७२ को भूइचालोले सिंहदरवार नराम्रोसित प्रभावित हुन पुग्यो । सिंहदरवारको दुईवटा पाटोमध्ये एउटा पश्चिम पट्टिको चन्द्रशमशेरकै पालामा बनेको भवन र पूर्व, उत्तर र दक्षिण पट्टिको करिब ०३६÷३७ सालमा सिमेन्टको गारोले बनेको भवन छ । पूर्वी, उत्तर र दक्षिण पट्टिको भागमा एक वर्ष अगाडी सम्झौता भइसकेर हामीले रेक्ट्रोफिटको काम करिब करिब अन्तिम चरणमा पुर्याइसकेका छौँ ।

पश्चिमपट्टिको चन्द्रशमशेरकै पालामा बनेको सिंहदरवारको ओरिजिनल स्वरूप जुन बाँकी छ, त्यो सुरुमा क्षति अध्ययन गर्दै जाँदा भत्काउने, नयाँ निर्माण गर्ने वा रेक्ट्रोफिट गर्ने भन्नेबारे निकै नै लामो छलफल र बहस भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामो समयसम्म सरोकारवालाहरूसँग छलफल चलायो । र, पछिल्लो समयमा आएर यसलाई रेट्रोफिट गर्न सकिन्छ भनेपछि परामर्शदाता नियुक्त गरेर अध्ययन पश्चात् डिटेल डिपिआर अनुसार रेक्ट्रोफिट गर्ने भनेर सूचना निकाली सकेका छौँ । त्यसपछि हामीले प्रबलीकरण गरेर निर्माण गर्छौँ । अलिकति टाइम लागेको कारण चाहिँ त्यो हो ।

सिंहदरवार भवनलाई पुनर्निर्माण गरिरहँदा यसका भित्री संरचनाहरू हिजोको भन्दा निकै परिवर्तन गरेर बनाउन लागिएको छ । प्रधानमन्त्री, मुख्य सचिव तथा सचिवहरू को–को कहाँ बस्ने भन्ने डिजाइन तयार गर्नुभएको छ ?
यो सिंहदरबारको पूर्व, उत्तर र दक्षिण पट्टिको भागको रेक्ट्रोफिट भइराखेको छ । यसै बिचमा प्रधानमन्त्री कार्यालयसँगै हामी बसेर प्रधानमन्त्री कार्यालयको रिक्वाइरमेन्टको अनुरूप मिल्ने गरी कुनै हलहरूमा पार्टिशन थप्ने कुनै ठाउँमा ट्वाइलेटहरू थपेर अलि बढी प्रयोगलाई सजिलो हुने हिसाबले निर्माण गरिरहेको छौँ ।

डिजाइन छ नि हैन ?
डिजाइन बनाएका छौँ ।

दिन सक्नुहुन्छ ?
यो डिजाइन त दिन सकिन्छ तर यसको फाइनल भइसकेको छैन किनभने हामी छलफलकै क्रममा छौँ, प्रधानमन्त्री कार्यालयसँग ।

डिजाइन छ भन्दा छ भन्नुहुन्छ, दिनसक्नुहुन्छ भन्दा फाइनल भइसकेको छैन भन्नुहुन्छ अनि काम चाहिँ कसरी गर्दै हुनुहुन्छ ? जहाँ मन लाग्यो त्यहाँ भत्काउने, जहाँनेर ठड्याउन मन लाग्यो त्यहाँ वाल लगाइहाल्ने भनेपछि त्यसको ओरिजिनल स्वरूप बिगार्नेसँगै समय र खर्च पनि बढ्ने होला नि हैन त ?
हैन, हैन । जता मन लाग्यो त्यता फोडेको हैन । जहाँ जहाँ क्र्याक छ, भित्री पार्टमा त्यहाँको प्लास्टर उप्काएर ज्याकेटिङ गरेर मजबुत बनाइएको छ । रेट्रोफिटको लागि नेपालमा नयाँ प्रविधि पनि हो । सुरुसुरुको अभ्यास पनि हो । आवश्यक ठाउँमा केही प्लास्टर गर्ने कामहरूबाहेक त्यस्तो तोड्ने फोड्ने काम भएको छैन ।

डिजाइन सम्पन्न गरेर त्यसपछि संरचना निर्माण गर्ने कि, संरचना बनाएर डिजाइन बनाउने ?
होइन, होइन अहिले काम भइरहेकै बेलामा मिलाइ’रा हो । वहाँहरूको रिक्वायरमेन्ट अनुसार जस्तो अब केही ठाउँमा ट्वाइलेट थप्नुपर्‍यो भने ट्वाइलेट थप्ने ठाउँमा पुगेकै छैनौँ । ज्याकेटिङ गरिरा छ ट्वाइलेट त्यहाँ थपिदिन्छौँ । वहाँको रिक्वायरमेन्ट अनुसार ।

कहाँ-कहाँ के-के रहने भनेर पहिले डिजाइन तयार गरेर भित्रबाहिर सबैतिर संरचना बनाउने होइन त्यसो भए ?
मैले तपाईँलाई बुझाउन सकिँन, डिजाइन फाइनल छ की तर पछि आएर वहाँहरूको एडिशनल रिक्वायरमेन्ट केही थपियो ।

आवश्यकता के-के हो भनेर पहिल्यै निर्क्योल गरिसकेपछि सोही अनुसार डिजाइन तयार गरी निर्माण थालनी गर्नुपर्ने होइन र भन्या ?
गर्नुपर्ने त थियो ।

यहाँकै भनाई अनुसार एउटा खण्डको काम हुँदैछ, अर्को खण्डको भर्खरै टेन्डर खोलिएको छ, पुरै भवन बन्न कति वर्ष लाग्ने होला ?
अहिले रेट्रोफिट भइरहेको तीनवटा खण्ड मंसिरसम्म सकिन्छ । अगाडीको मुख्य भाग जसको अहिले टेन्डर भइरहेको छ, त्यसको समयावधि नै दुई वर्ष छ ।

आधा बनाएर प्रधानमन्त्री कार्यालय सार्ने अनि आधाचाहिँ बिस्तारै बनाउँदै गर्ने हैन त ?
हाम्रो टेन्डर भनेको रेट्रोफिटको मात्र हो । त्यो हामी पुरा गर्छौ, बाँकी पुनः टेन्डर हुन्छ ।

सिङ्गै भवन नै पुनःनिर्माण गर्ने भएपछि जे जे गर्नुपर्ने हो सबैको एकैचोटी टेन्डर गर्दा हुँदैनथ्यो र ?
हुन्थ्यो

प्रधानमन्त्री कार्यालयले मंसिरसम्म हामी सर्छौँ भन्ने कुरा गर्नुभा’छ । त्यो अवधिसम्म के यो सम्पूर्ण तयार भइसक्छ ?
हाम्रो निर्धारित ठेक्का अनुसारको काम चाहिँ सकिन्छ ।

भनेपछि प्रधानमन्त्री सरिसकेपछि पनि मर्मत कार्य निरन्तर चलिरहन्छ ?
उत्तर, पूर्व र दक्षिणतर्फको मंसिरसम्मको टार्गेट हो, पश्चिमपट्टि प्रधानमन्त्री बस्ने होइन नि त !

पहिला पो प्रधानमन्त्री कार्यालयसँगै अरू मन्त्रालयहरू पनि थिए तर अब विभिन्न संरचनाहरू थप भएका कारण सिङ्गै भवनमा प्रधानमन्त्री कार्यालय रहने भनिएको छ नि ? 
बाहिरबाट हेर्दा एउटै देखिएपछि यसको दुईवटा बिल्डिङ छ । त्यसको ठेक्का पनि छुट्टाछुट्टै नै छ । सी आकारको भवन मंसिरसम्म सकिन्छ, बाँकी मुख्य भवनको पुरै रेट्रोफिट गर्न बाँकी भएकोले समय लाग्छ ।

आजका दिनसम्म भौतिक र वित्तीय प्रगति कति भयो ?
यसको वित्तीय प्रगति त लेखामा हेर्नुपर्छ । भौतिक प्रगति भन्यो भने करिब करिब हामी ६० देखि ६५ प्रतिशत सकेका छौँ, पूर्व उत्तर र दक्षिण पट्टिको गरी ।

यसको लागत के कति छ ?
यसको लागत दुई थरि छ । सिंहदरबारको तीन तिर(पूर्वी, दक्षिण र उत्तर)को रेक्ट्रोफिटको लागि २४ करोड चानचुनको छ । जुन चाहिँ चन्द्रशमशेरकै पालाको बाहिरपट्टिको मुख्य सिँहदरवारको ४३ करोड स्टमेट छ । यो टेन्डरमा गएको छ । जुन २४ करोडवाला छ त्यो रकमले स्टक्चर मात्रै पुग्ने रहेछ । अहिले हामीले त्यसमा अरू चाहिँ अन्य पूर्वाधारहरू केही थप्ने कुराहरू, फिनिसिङ, फर्निसिङको कुराहरूलाई छुट्टै स्टिमेट गरेका छौँ । सुरुमै रहेनछ । नयाँ डिजाइन अनुसारको स्टिमेट भइरहेको छ । त्यो डिजाइन पनि फाइनल भइसकेको छैन । त्यसपछि मात्रै थप लागत आउँछ, अझै प्रधानमन्त्री कार्यालयसँग छलफलै भइरहेको छ ।

भूकम्पीय दृष्टिकोणले नेपाल जहिल्यै जोखिममा छ भनिँदै आएको छ, देशको प्रधानमन्त्री नै बस्ने भएपछि यसको सुरक्षाका विषयमा पनि त पक्कै ध्यान दिनुभएको होला नि हैन ?
यो हाम्रो आफ्नै मनज्ञानले मात्रै काम गरेका छैनौँ । परामर्शदाता नियुक्त गरेका छौँ । वहाँहरूले भवनको पुरै अध्ययन गरेर स्टक्चर डिजाइन गरेर यसलाई सुरक्षित हिसाबले भवन सुरक्षित हुन्छ भनेर त्यहीँ अनुसारको डिजाइन छ । त्यहीँ डिजाइनको वेसमै बसरेर हामीले प्रबलीकरणको काम गरिराखेका छौँ । त्यसकारणले लाग्छ यो । भवन चाहिँ अब आउने भूकम्पमा जोखिमबाट जोगिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस