विदेश लाँदै गरिएका २०९ महिला तथा बालबालिकाको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विदेश लाँदै गरिएका २०९ महिला तथा बालबालिकाको उद्धार


२३ श्रावण २०७६, बिहिबार


नेपालगञ्ज । बाँकेको नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ ।

यहाँस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका लागि अवैध रुपमा भारत तथा खाडी मुलुक जाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।

सो अवधिमा भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं. ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका ५०० भन्दा बढी आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि निवदेन दिएका छन् । तीमध्ये १३६ जनाको सकुशल उद्दार गरिएको छ भने यौनशोषणमा परेका ५७ जनाको उद्दार गरिएको छ ।

यसअघि दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा गरेको माइती नेपालले जनाएको छ । त्यसअघि पनि तीन जना महिलाको उद्दार दिल्लीबाटै भएको थियो भने जोखिमपूर्ण यात्रामा रहेका ३५१ जनालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनहाबाटै घर फर्काइएको थियो ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ’, संयोजक कोइरालाले भने ।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडी मुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्दार सङ्ख्यासमेत बढेको छ ।

राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिलाहरु सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट समेत फिर्ता पठाउने गरेको छ । मानव बेचबिखन समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी, युवा र अभिभावकसमेतको समूह गठन गरी तालीम दिएर उनीहरुमार्फत विभिन्न स्थानमा अभिमुखीकरण तथा जनचेतनामूलक अभियानसमेत माइती नेपालले सञ्चालन गर्दै आएको छ ।

साथै जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई उद्दार गरी आवश्यक परामर्श दिने, बेचबिखनमा परेकाहरुको पुनस्र्थापना, विभिन्न हिंसामा परेका महिला तथा बालबालिको उद्दार, पुनस्र्थापन र पैरवी पनि माइती नेपालले गर्दै आएको संयोजक कोइरालाले बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस