असईलाई विप्लव जनअदालतको पक्राउ पुर्जी : उपस्थित नभए इन्काउण्टर ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

असईलाई विप्लव जनअदालतको पक्राउ पुर्जी : उपस्थित नभए इन्काउण्टर !


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरी विरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेको छ ।

नेकपा कैलालीले ‘जनअदालत’को नामबाट राष्ट्रिय अनुसन्धान विभागका सहायक प्रहरी निरीक्षक(असई) भैरव कुँवरको नाममा ‘पक्राउ पुर्जी’ जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

‘जनअदालत’का प्रमुखका रूपमा ‘क.विकास’द्वारा जारी भएको १५ दिने पक्राउ पुर्जीमा कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन भनिएको छ ।

कुँवरको घर आसपास तथा सार्वजनिक स्थानहरूमा टाँसिएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा जाने बाटोमा बस्ने नातीरनातीनी नवराज कुँवरको छोरा, पार्वती सापकोटा(कुँवर)का श्रीमान् प्रतिवादी नेपाल सरकारको प्रहरी, राष्ट्रिय अनुसन्धान ब्युरोको असई भैरव कुँवरका नाममा २५ दिने पक्राउ पुर्जी ।’

‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैँ वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, पुर्जीमा उल्लेख छ ।

अनुसन्धान विभागका असई कुँवरमाथि नेकपाले सुराकी, अपहरण र ज्यान मार्ने काम गरेको आरोप लगाएको छ ।

कैलालीका नेकपा कार्यकर्ता ’तुफान’ ले असई कुँवर विरुद्ध अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकूलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ ।

पक्राउ पुर्जीसँगै नेकपाले चेतावनी पत्र पनि टाँसेको छ । जहाँ आफैँ वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारबाही गर्ने र जुनसुकै बेला पनि इन्काउण्टर गर्न बाध्य हुने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस