जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् ।
पक्राउ परेकामध्ये जिल्लाका तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गरी छुटेको प्रहरीले जनाएको छ ।
सरकारले प्रतिबन्ध लगाउनुअघि समूहमा सक्रिय रहेका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरू पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन्।
विप्लव समूहका डोल्पा इन्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर रिहा भएका थिए। त्यस्तै छेडागाड इन्चार्ज कैलाश पुन, भेरी ब्युरो सदस्य हरिचन्द्र जैसी लगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन्।
विप्लव समूहको गैरकानुनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भनी कागजमा उल्लेख गरी उनीहरू छुटेका हुन्। त्यस्तै भेरी ब्युरो सदस्य जैसी सत्तारुढ दल (नेकपा) मा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीलाई काठमाडौँमा पक्राउ परे लगत्तै जाजरकोट पुर्याइएको थियो।
अहिले अन्य दुई जना विप्लव कार्यकर्तासमेत हिरासतमै रहेका छन्। कागज गरेर छुटे लगत्तै विप्लव समूहका कार्यकर्ता के गरिरहेका छन् भन्ने कुरा सूक्ष्म अनुगमन भइरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए।







